प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा जसपाका बहुमत सांसद, हस्ताक्षर पत्र देउवालाई बुझाइयो


काठमाण्डु – जनता समाजवादी पार्टीका बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा ३२ सिट रहेको जसपाका १८ जना सांसद प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका हुन् ।

डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले १८ जना सांसदको हस्ताक्षर गरेको स्रोतले जानकारी दियो । १८ जना सांसदको हस्ताक्षरसहितको पत्र कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष पुगिसकेको स्रोतले जानकारी दियो ।

र यो पनि

जसपा विभाजनको संघारमा, इस्तियाकको समूहले उपेन्द्रलाई सघाउंदा ठाकुर पक्ष अल्पमतमा

गत वैशाख १४ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो ।१४ गते बसेको बैठकको माइन्यूटमा २६ जनाको हस्ताक्षर रहेको छ ।

माइन्यूटमा अध्यक्षद्वय भट्टराई र यादवका साथै वरिष्ठ नेता अशोककुमार राई, रमेशप्रसाद यादव, सुनीलकुमार झा, राजेन्द्रप्रसाद श्रेष्ठ, महिन्द्रराय यादव, नवराज सुवेदी, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङलगायतका केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षर रहेको छ ।

सरकारमा जाने विषयमा जसपाभित्र विवाद कायम रहेका बेला यस्तो निर्णय आएको हो । अध्यक्ष महन्थ ठाकुर समूहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउँदै आएको छ ।

बाबुराम–उपेन्द्र समूह भने कांग्रस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement