काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने विषयमा तीन राजनीतिक दलसँग छलफल गरेका छन् । मंगलबार साँझ र बुधबार बिहान नेता नेपालले विपक्षी गठबन्धका तीन नेताहरुका छलफल गरेका हुन् ।
नेता नेपालले मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफल गरेका थिए ।
कांग्रेस पदाधिकारी बैठकपछि भएको भेटवार्तामा सभापति देउवासहित, नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी भएको स्रोतले जानकारी दियो ।
प्रचण्डसहितका नेताहरुसँग बुढानिलकण्ठ पुगेका नेता नेपालले प्रधानमन्त्री ओलीलाई विफल पार्न आफ्नो सहयोग रहने बचन दिएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनले आफूसँग २१ जना सांसद रहेको दाबी गर्दै वैशाख २७ गते प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा सहयोग गर्ने बचन दिएको स्रोतले जानकारी दियो ।
‘नेपाल पक्षले पनि सहयोगको बचन दिएको छ । चार जना शीर्ष नेताबीच जसरी पनि प्रधानमन्त्रीको विश्वासको प्रस्ताव विफल बनाउने विषयमा छलफल भएको छ’, ती केन्द्रीय सदस्यले काठमाण्डुपाटीसँग भने ।
साथै बुधबार बिहान पनि जसपा अध्यक्ष उपेन्द्र यादवसहित प्रचण्ड र नेता नेपालबीच छलफल भएको स्रोतले जनाएको छ । अध्यक्ष यादव निवास हात्तिवनमा भएको भेटमा नेपाल पक्षले कति सांसद ल्याउने र जसपाका पनि कति सांसदहरु अविश्वासको पक्षमा आउने भन्ने विषयमा गहन छलफल भएको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया