हुकुमको पक्षमा पासा, कमिसनको खेल सफल

हुकुमको पक्षमा पासा, कमिसनको खेल सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन नेपालको स्थानीय एजेन्ट हुकम डिस्ट्रिव्युटर्स प्रालिले आयात अनुमति पाएको छ । कम्पनीसंग सरकारको सम्पर्क तोड्दै हुकुमले आफ्नो योजनाअनुसार कमिसन सहित खोप ल्याउने भएको हो ।

५० लाख डोज खोप ल्याउन तीन अर्ब ५६ करोडको खरिद सम्झौताबाट ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल खेलेको हुकुम अन्ततः आफ्नो योजनामा सफल भएको छ । बैशाख १९ को मन्त्रीस्तरीय निर्णयको आधारमा हुकुमलाई आयात अनुमति दिइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

२९ माघ (११ फेब्रुवरी) मा सेरम इन्स्टिच्युटले चार डलरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै डेलिभरी दिने प्रस्ताव सोझै सरकारलाई पठाएको थियो  । त्यसपछि कमिसन गुम्ने खतराले हुकुम सल्बलाएको थियो ।

हुकुमको सक्रियताका अगाडी सरकारको सोझै खरिद गर्ने योजना समेल विफल भएको छ । कम्पनीले सस्तो रेटमा दिने भनी गरेको प्रस्ताव एकाएक परिवर्तन भयो । त्यसपछि कम्पनीले स्थानीय एजेण्टसँग सम्पर्क गर्न सरकारलाई भनेको थियो ।

५० लाख डोज खोप खरिदका लागि हुकमले प्रतिडोज ५.५ डलरको प्रस्ताव गरेको थियो, त्यसमा पनि १० प्रतिशत कमिसन जोडेर कुल मूल्य ६.०५ डलरमा खोप डेलिभरी दिने प्रस्ताव स्वास्थ्य सेवा विभागमा पेश गरेको थियो ।

यता कम्पनीले ४ डलरमै काठमाण्डु विमानस्थलसम्म ल्याईदिने बताएको थियो । तर, हुकुमले भने ६.०५ डलरमा खोप डेलिभरी दिने प्रस्ताव पेश गरेको हो । महामारीको बेलामा लुट्ने हुकुमको योजनालाई सरकारी निर्णयले सफल बनाइदिएको छ ।

आयातकर्ता कम्पनीले सबै सेवा सुविधासहित १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने गरि अनुमति दिइएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको वरीपरी घुम्ने तथा नियुक्ति खाएका ब्यक्तिहरु एजेण्ट हुँदा उनीहरुको खिलापमा जान स्वास्थ्य मन्त्रालय डराएको स्रोतले बताएको छ ।

हुकम डिस्ट्रिव्युटर्स प्रालिमा विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य सेयरहोल्डर छन् ।

प्रभावशाली उद्धमी वैद्यलाई प्रधानमन्त्रीले भिजिट नेपाल २०२० को संयोजक समेत बनाएका थिए । निकै शक्तिशाली मानिएको हुकुमलाई अनुमति दिन स्वास्थ्य मन्त्रालयलाई ठूलै दबाव परेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सस्तो दरमा खोप ल्याउने मन्त्रालयको योजना शक्तिशाली व्यवसायीहरुका कारण विफल बनाइदिएका छन् । त्यसमा स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीको भूमिका भने शंकास्पद छ । उनले रसियाबाट खोप ल्याउन जोड गरेको स्रोतको दावी छ ।

जिटुजी अर्थात सरकार मार्फत अनुदानको आश गरिरहेकै बेला सरकार निकट ब्यक्तिमा कमिसन मोह बढ्दा खोप खरिद प्रकृया अड्किएको थियो । नेपालले सेरमसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख पाए पनि बाँकी १० लाख डोज पाउन सकेको छैन । कमिसन एजेन्टहरूले फ्याक्ट्री नेतृत्वलाई समेत प्रभावमा पारेपछि पैसा बुझाइसकेको खोप पनि नेपालले नपाएको हो ।

पछिल्लो समय महामारी भयावह भएपछि भारत सरकारले सेरमलाई खोप निर्यात गर्न बन्देज लगाएको छ । तर भारतमा महामारी सुरु हुनुअघि नै बाँकी १० लाख मात्रा खोप नेपाललाई प्राप्त नहुनुमा कमिसनको खेल जोडिएको स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बताएका थिए ।

भारतले अनुदानमा दिएको १० लाख डोज अस्ट्राजेनेका खोपबाट सुरु भएको अभियान त्यसपछि खरिद गरिएको १० लाख डोज खोपबाट अघि बढेको थियो। तर सेरमसँग खरिद गरिएको खोपको १० लाख डोज नआउँदा नेपालको खोप अभियान रोकिन पुगेको छ । पहिलो डोज लगाएकाले दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने भएकाले अन्योल भइरहेको छ ।

स्वाथ्यमन्त्री त्रिपाठीले कमिसनको खेलमा लागेर करोडौं नेपालीको स्वास्थ्यमा खेलवाड गर्न खोज्नेहरुलाई भूतप्रेतको संज्ञा दिएका छन् । उनले भने, ‘सुरुको खरिदमा भारत सरकारले हस्तक्षेप गरेर सहुलियत दरमा नेपालले खोप पाए पनि कमिसनको खेलमा केही भूतप्रेतहरू जागृत भए र तिनको इच्छा के भने यसमा १० प्रतिशत कमिसन लिने भन्ने थियो । नेपालका केहीले यस्तो प्रयास गरे । तिनलाई बडो मिहेनतका साथ हटाइयो । ’

१० लाख डोज खोप उही मूल्यमा आएपनि बाँकी १० लाख डोज खोप पठाउन सेररुमले आनाकानी गरिरहेको छ । यद्यपि अहिले हुकुमले आयात अनुमति पाइसकेकाले महंगोमा नै भएपनि खोप भने आउने बुझिएको छ । यस्तै औषधि व्यवस्था विभागले भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउनका लागि इमराल्ड फर्मालाई आयात अनुमति दिइएको छ । आयातकर्ता कम्पनीले सबै सेवा सुविधासहित १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने बताइएको छ ।