निधेषाज्ञा पण्डितको पिरलो !

निधेषाज्ञा पण्डितको पिरलो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित कर्म गर्ने सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताए ।

पौडेलले भने, ‘हिन्दू धर्मसंस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन् ।’ उनले स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने पाउने वातावरण बनाइदिन प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताए ।

‘पत्रकार स्वास्थ्यकर्मीलगायत अन्यले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरुले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

उनले यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै चिन्तासमेत व्यक्त गरे । मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा कोभिड –१९ को जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिए ।

विश्व हिन्दू महासंघका अध्यक्ष पार्वती पौडेलले वर्तमान अवस्थाका कारण हिन्दू धर्मसंस्कारअनुसार गरिने विधि हुन नपाएको गुनासो गरे । ‘अहिलेको कठिन अवस्थामा हाम्रा धर्म संस्कारहरु पनि मासिँदै छन् । स्वास्थ्य पहिलो प्राथमिकता हो, सँगसँगै स्वास्थ्य सतर्कतासहित गर्न मिल्ने सांस्कारिक कर्म गर्न प्रशासनले रोक्नुहुँदैन’, उनले भने ।

उनले हिन्दू धर्ममा १६ संस्कार गर्ने चलन रहेकामा कोरोना भाइरसका कारण यस्ता कर्मबाट वञ्चित हुनुपरेको सुनाए । परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने तथा कोरोनाका कारण मृत्यु भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उनले जोड दिए ।