केन्द्रबाट ओझेलमा परेको पाँचखाल आफ्नै स्रोतसाधनबाट चल्दै, मेयर भन्छन्ः स्थिति भयावह भइसक्यो

केन्द्रबाट ओझेलमा परेको पाँचखाल आफ्नै स्रोतसाधनबाट चल्दै, मेयर भन्छन्ः स्थिति भयावह भइसक्यो

सरकारको सहयोग नपाएका मेयरको सुझावः सत्ताको लुछाचुँडी छोड्नू्स् नागरिकको ज्यान बचाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय नेपाल कोरोना संक्रमणबाट दक्षिण एसियामा भारतपछि सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा परेको छ ।

नेपालमा दैनिक ९ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परिरहेका छन् । मृत्युदर पनि बढ्दो क्रममा छ । सरकारले ठोस कदम र पुर्व तयारी नथाल्दा भयावह स्थिति निम्त्याएको छ । अक्सिजन नपाएकै कारण अस्पताल पुर्याएपनि बिरामीलाई बचाउन कठिन भएको छ भने कतिपय स्थानमा एम्बुलेन्स नपाएकै कारण अस्पतालनै पुर्याउन नपाएर बिरामीको ज्यान जाने गरेको छ ।

एम्बुलेन्स नपाएर कुनै पनि संक्रमितको ज्यान नजाओस् भनेर काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो निजि सवारी साधन र नगरपालिकाकाको साधनलाई बिरामी र बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी बोक्न प्रयोग गर्न दिने निर्णय गरेका छन् । नागरिकको जीवन रक्षाका लागि आफ्नै बलबुँताले भ्याएसम्मका काम गरिरहेको उनको दाबी छ । नगर भित्र हालसम्म १ सय जना सकृय संक्रमित रहेका छन् ।

जसमध्ये ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । ५० वटा आईसोलेसन बेड बनाउने तयारी गरिएको भएपनि हाल २० वटा तयारी अवस्थामा रहेको उनले जानकारी दिए । नगरले हाल चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । नगरले पहिले आफैंले एउटा एम्बुलेन्स खरिद गरेको र तीन वटा एम्बुलेन्स अन्य स्रोतबाट तयारी अवस्थामा राखेको छ ।

नगरपालिकाका मेयर र उपमेयरले चढ्ने गाडी स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइएको छ भने मेयर महेश खरेलले आफ्नो निजी ल्याण्डक्रुजर गाडी चिकित्सकहरुलाई उपचारमा आउजाउ गर्नका लागि दिइएको बताए । यस्तै एम्बुलेन्स अभाव भएमा ति गाडीहरुमा बिरामीहरुलाई समेत ओसारपसार गरिने छ । संक्रमण फैलन नदिन कन्ट्र्याक ट्रेसिङलाई ब्यापक बनाइएको उनले बताए ।

‘जहाँ बढी संक्रमित देखिएका छन् त्यहाँ कन्ट्र्याक ट्रेसिङको काम सुरु गरेका छौं । आज पलाञ्चोक एरियामा गर्दैछौं । प्रत्येक वडामा गएर हामीले एक हजार जनालाई गर्दैर्छौं’, उनले भने । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई पनि घरमै पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेको उनले बताए

‘संक्रमितहरुलाई प्रतिघर एक बट्टा मास्क (दिनको तीन वटाका दरले १४ दिनलाई पुग्ने), सिटामोल, जिङ्क, भिटामिन डीलगायतको प्याकेज घरघरमै लगेर बाँडिरहेको छौ’ उनले भने ।

संक्रमण नियन्त्रणमा नागरिक गैरजिम्मेवार

नगरले नागरिकलाई कोरोना संक्रमणका लागि भरपुर प्रयास गरेपनि सर्वसाधारण नागरिकले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण फैलीएको उनको गुनासो छ । सरकारले निषेधाज्ञा लगाए पनि स्थानीय नागरिकहरुले अवज्ञा गर्दै ठूलो समूहमा भेला हुने विवाह, भोज भतेर गर्ने लगायतका काम जारी राखेको उनले बताए ।

मेयर खरेलले नागरिकहरु जम्मा भएर जुवातास खेल्ने, भट्टी पसलमा बस्ने, खसी काटेर जम्मा हुनेलगायतका काम गरेकाले संक्रमण नियन्त्रणमा असहयोग पुगेको गुनासो गरे । उनले त्यस्ता कार्य रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिदै स्वास्थ्यका मापदण्ड पालना गर्न र अनावश्यक घरबाहीर ननिस्कन सर्बसाधारणलाई अपिल गरे ।

राज्यको असयोग

कोरोना नियन्त्रणका लागि संघीय सरकारले पर्याप्त कदम नचालेको गुनासो गरे । कोरोना नियन्त्रणका लागि बजेट नहुँदा समस्या भोग्नुपरेको उनले बताए । उनले भने ‘स्थानीय सरकार त छ तर, केन्द्र सरकार छ किन छैन् मलाई थाहा छैन् । गत वर्षको कोरोना कहरमा सरकारले ११ लाख मात्र सहयोग दिएको थियो । यो वर्ष त पाइएन । पहिले पनि धेरै याचना गर्यौं । यही अस्पताललाई आईसियू भेन्टिलेटर बनाउन चाहान्छौं भनेर पहल गर्यौं तर, त्यो सबै विफल भयो । भेन्टिलेटर हामी आफ्नै पैसाले किन्छौं चिकित्सकको दरबन्दी दिनूस् भनेर पत्र काट्यौं केही पहल भएन । ’

उनले कोरोना कहर बढ्दो क्रममा रहेकाले सबैलाई सुरक्षीत रहन आग्रह गरे उनले भने, ‘मेरो सबैलाई औंला जोडेर नमस्कार छ – स्थिति भयावह भइसक्यो सरकारले चाहेर पनि नियन्त्रण गर्ने अवस्था छैन् । हामी धेरै ढिला भइसकेका छौं । हामीसँग स्रोतसाधन र म्यानपावर, मेडिकल इक्विपमेन्टहरु छैन् । सबै जना घरमा बसेर सुरक्षित रहिदिनुहोला । यसलाई खेलाची नसोचिदिनुहोला । हामीले धेरै गम्भीर अवस्था खेप्नु परिरहेको छ । ’

साथै पछिल्लो समय दलहरुबिच भइरहेको सत्ता फेरबदलले जनता निराश बनेको भन्दै कोरोना नियन्त्रणलाई प्राथमिकता दिन आग्रह उनको छ । उनले सत्ताको लुछाचुँडीमा भन्दा पनि अहिले क्याक्सिन ल्याउने, अस्पतालमा भेन्टिलेटर, आईसियू, अक्सिजनको क्षमता बढाउनुपर्ने बिषयमा दलहरु एकजुट बन्नुपर्ने अवस्था आएको बताए ।

‘सत्ताको लुछाचुँडीमा भन्दा पनि अहिले भ्याक्सिन ल्याउने, अस्पतालमा भेन्टिलेटर, आईसियू, अक्सिजनको क्षमता बढाउनुपर्यो । स्वास्थ्यकर्मीहरुको उच्च मनोबल राख्नका लागि उहाँहरुलाई सेवा सुविधा दिनुपर्यो,’ उनले भने ।