जेठ २ मा फर्किन सहमत भए ओली

जेठ २ मा फर्किन सहमत भए ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।

एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।

‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ नेता नेपाल समूहले भोलि २ जेठ आइतबार फर्किने विषयलाई ‘बटमलाइन’ बनाउँदै आएको छ ।

कार्यदलमा रहने नेता टुंगो शनिबार ओली र नेपालले लगाउनेछन् । पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता जोगाउने विषयमा ओली र नेपाल सहमत देखिएकाले कार्यदल बनाउने सहमति जुटेको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि बिहीबार ओली र नेपालबीच छलफल भएको थियो । त्यसपछि दुवैतर्फका दोस्रो तहका नेतासहितको छलफल शुक्रबार भएको हो । ‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो,’ बैठकपछि नेपालनिकट नेता रघुजी पन्तले भने ।

छलफलमा ओलीसहित सो समूह नेता एवं एमाले महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तसमेत सहभागी थिए । ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापासमेत छलफलमा सहभागी भएका छन् । -यो समाचार आजको राजधानी दैनिकमा छ ।