काठमाण्डु – लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
एमाले नेता शंकर पोखरेलको सरकार जोगाउन पार्टीको ह्पि उल्लंघन गरेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो ।
सोही आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते उनिहरुलाई पदमुक्त गरेका थिए । त्यस लगतै जसपा अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले कारवाही नगरेको जानकारी गराएपनि ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आएका थिए ।
तर उनीहरु आउँदासम्म काठमाण्डुमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि फर्किएका थिए । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।




प्रतिक्रिया