पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको रिसोर्टद्धारा वनमा मनपरि

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको रिसोर्टद्धारा वनमा मनपरि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर- पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निर्माणाधीन माउन्ट मोनास्ट्री रिसोर्टले स्थानीयको पिउने पानीको स्रोत सुक्ने गरी ‘डिप बोरिङ’ खन्न थालेको छ ।

भक्तपुरको सूर्यविनायक र ललितपुरको महालक्ष्मी नगरपालिकाको सीमा पोखरीथुम्कोस्थित गोमती सामुदायिक वनको १.७१ हेक्टर अतिक्रमण गरेर निर्माण भइरहेको रिसोर्टले जबर्जस्ती पाँच सय मिटर गहिरो ‘डिप बोरिङ’ खन्न सुरु गरेको हो ।

शेर्पाले भक्तपुर वन कार्यालयबाट ६ सय रोपनी (३६ हेक्टर) वन क्षेत्र कबुलियती वनका नाममा लिजमा लिएर करिब २० वर्षअघि रिसोर्ट बनाउन थालेका थिए तर सशस्त्र द्वन्द्वलगायत कारणले रोकिएको थियो । शान्ति कायम भएसँगै अहिले पुन: रिसोर्ट विस्तार गर्ने काम चलिरहेको छ ।

२०६५ सालदेखि नै रिसोर्टका नाममा संरचना निर्माण सुरु गरिएको वन उपभोक्ताहरूको भनाइ छ । भारतबाट मेसिन र प्राविधिक ल्याएर खन्न थालिएको ‘बोरिङ’ स्थानीयको विरोधपछि तत्कालका लागि रोकिएको छ । तर रिसोर्ट मालिकले जसरी पनि निर्माण अघि बढाउन चलखेल गरिरहेको स्थानीयको गुनासो छ ।

गोमती सामुदायिक वनको सुँगुरे खोला र काफ्ले सामुदायिक वनको सिंगऋषिङ खोलाको पानीमा प्रत्यक्ष असर पर्ने गरी बोरिङ खन्न गर्न थालिएपछि स्थानीयवासी आक्रोशित भएका छन् । ढुंगिन, घिमिरेथोक र लामाटारका बासिन्दा वर्षौंदेखि त्यहींको पानीमा आश्रित छन् ।

महालक्ष्मी नगरपालिका ९ का वडाध्यक्ष वासु गौतमले होटल मालिकले स्थानीय तह, बासिन्दा र सरोकारवालालाई थाहै नदिई बोरिङ खनिएको बताए ।

‘हाम्रो वन क्षेत्रमा आएर होटलले जबर्जस्ती गरेको छ,’ गौतमले भने, ‘होटल व्यवस्थापकलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ स्थानीयवासी र सामुदायिक वनका उपभोक्ताले होटल सञ्चालकलाई कारबाही माग गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको समेत ध्यानाकर्षण गराइसकेका छन् ।  आजको कान्तिपुर दैनिकमा समाचार छ ।