ओली सरकार संवैधानिक जिम्मेवारीबाट पतन भयोः संयुक्त विद्यार्थी संगठन

ओली सरकार संवैधानिक जिम्मेवारीबाट पतन भयोः संयुक्त विद्यार्थी संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

आइतबार विपक्षी गठबन्धनका पाँच वटा विद्यार्थी संगठनहरुले प्रतिनिधि विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरुले सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको आरोप लगाएका छन् ।

‘संसदको विघटनले संविधानमाथि प्रहार भएको छ भने सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको छ । केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

‘सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसदको विघटनका विरुद्ध एक जुट हुदै आ–आफ्नो ठाउँ बाट प्रतिरोध गर्नको लागि हामी सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।