काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्नका लागि मोर्चाबन्दी गरेका दलहरुले सोमबार रिट दायर गर्ने भएका छन् ।
सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।
संसद विघटनविरुद्ध सोमबार बिहान १० बजे सर्वोच्च अदालतमा रिट हाल्ने माओवादी केन्द्रका सांसद वर्षमान पुनले जानकारी दिए ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २२ जना सांसदहरुले रिटको पक्षमा हस्ताक्षर गरेका छन् । सांसद रामकुमारी झाँक्रीले नेपाल समूहका २२ जना सांसदहरुले हस्ताक्षर गरेको जानकारी दिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले १४९ जना सांसदको हस्ताक्षर रहेको दाबी गरेका छन् । उनले सोमबार बिहान सर्वोच्चमा गएर रिट दायर गर्ने जानकारी दिए ।
नेपाल समूहका नेपालसहित झलनाथ खनाल, भीमबहादुर रावल, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णलाल महर्जन, झपटबहादुर रावल, निरादेवी जैरू, सोमप्रसाद पाण्डेय, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङलगायतले हस्ताक्षर गरेका छन् ।




प्रतिक्रिया