काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् ।
गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
अध्यादेश जारी भएसँगै अब जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउने भएका छन् । तर, त्यस्ता सन्तानका बाबु आमा दुवै नेपाली नागरिक हुनुपर्नेछ ।
योसँगै जनता समाजवादी पार्टीले उठाउँदै आएको माग पूरा भएको छ । जसपाले नागरिता सम्बन्धी महत्वपूर्ण माग पुरा भएको जनाएको छ ।
संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।





प्रतिक्रिया