माधव नेपालभित्रै छन् तीन उपगुट, बहुमत नेता पार्टी विभाजन गर्न नहुने पक्षमा उभिए

माधव नेपालभित्रै छन् तीन उपगुट, बहुमत नेता पार्टी विभाजन गर्न नहुने पक्षमा उभिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षमा पार्टी विभाजन गर्न नहुने विषयमा बहुमत नेताहरु उभिएका छन् । यसै विषयलाई लिएर नेपाल समुहभित्र अहिले विवाद सुरु भएको छ । नेपाल समुहभित्र उनिसहित अन्य दुई वटा उपसमुह छन् । नेपाल पक्षले निर्वाचन आयोगमा नयां पार्टी दर्ताका लागी तीन वटा नाम बुझाइसकेको छ । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नेपाल निकट युवा नेता जीवन राईको नेृतत्वमा आयोगमा दर्ता भएको आईतबार सार्वजनिक भइसकेको छ ।

नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत), नेकपा (समाजवादी) र नेकपा (एमाले–क्रान्तिकारी) पनि दर्ताका लागी गत बैशाख ३ गते नै निवेदन दिइसकेको छ । तर, त्योमध्ये समाजवादीको विधान नमिलेर अघि बढेको छैन भने अन्य नामको हकमा पनि आयोगले अझै निर्णय गरेको छैन । नेपाल पक्षलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले पार्टी दर्ताको निर्णय गर्न फुल बोर्डको बैठक बस्नुपर्ने भएकाले ढिलाई भएको जवाफ दिएको स्रोतले बतायो ।

निर्वाचन आयोगमा दर्ताको लागी आवेदन परेको नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुंवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । सुरुमा राष्ट्रियसभाको निर्वाचनमा एमालेको नेपाल पक्षका नेता खिमलाल देवकोटा यही नाम र कलम चुनाव चिन्हबाट चुनाव लड्ने पक्षमा थिए । तर,आयोगले समयमा निर्णय नगर्दा उनी स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव जितेका थिए ।

‘सुरुमा हाम्रो योजना नेकपा (एकीकृत) र कलम चिन्ह्बाट चुनाव उठ्ने थियो । तर, आयोगले समयमै निर्णय नगर्दा समस्या भएको हो । दर्ता भएको ४५ दिनभित्र निर्णय गर्नुपर्र्ने भएकाले अव चांडै निर्णय आउला ।’ नेपाल पक्षका एक नेताले भने ।

नेपाल पक्षभित्र पार्टी विभाजन गर्न नहुनेमा बहुमत नेताहरु छन् । तर, केही सिनियर नेताहरु भने जसरी पार्टी अलग गरेर जानुपर्ने पक्षमा छन् । एमालेका वरिष्ठ नेता नेपालको संस्थापन पक्ष भने अध्यक्ष केपी शर्मा ओलीसंग मिल्न नसकिने बरु अर्को पार्टी बनाएर जानुपर्ने पक्षमा छ । तर,झलनाथ खनाल निकट र पुर्व मालेको समुह भने पार्टी विभाजन गर्न नहुने पक्ष्ँमा छ ।

यस्तो छ नेपालभित्रको उप-समुह

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तिक्ततापूर्ण सम्बन्ध छ । यसअघि पार्टीमा लामो समय सहकार्य गरेका दुवै नेताले अहिले पार्टी यो अवस्थासम्म आउनुको पछाडी एक अर्को दोषी रहेको आरोप सार्वजनिक लगाइरहेका छन् । त्यतिमात्र होईन नेपाल र ओलीले यो बीचमा एकले अर्कोलाई कार्वाहीको निर्णय समेत गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आफुलाई पार्टी सदस्यबाट हटाएको भन्दै नेपालको आलोचना समेत गर्दै आएका छन् । पछिल्लो समय पार्टी एकताका लागी दुवै नेताबीच एक्ला एक्लै छलफल भएर कार्यदल समेत बनेको थियो । त्यसले एमाले एकताको बाटोमा अघि बढेको कतिपयले अनुमान गरेका थिए भने कार्यकर्ता पंक्तिमा समेत उत्साह छाएको थियो ।
तर, हेटौडामा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापालाई हराएर खिमलाल देवकोटालाई जिताएपछि दुवै नेताबीच सम्बन्ध विग्रेको थियो ।

प्रधानमन्त्री ओलीलाई हटाउन नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर संकलनमा लागेपछि पार्टी लगभग विभाजन भइसकेको छ । अध्यक्ष ओलीले नेपालसहित ११ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेका छन् । यसअघि नेपाल र भिम रावलसहितका नेतालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय उनले गरेका थिए । पछि स्थायी समितिको बैठकले उनिहरुमाथीको कार्वाही फुकुवा गरेको थियो ।

नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन गर्ने निर्णय गरेसंगै उनको पक्षमा रहेका नेताहरु समेत विभाजित भएका छन् । अहिले नेपाल पक्षका प्रभावशाली नेताहरु योगेश भट्टराई,सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायतले नेपाललाई साथ नदिने बताइसकेका छन् । अर्का नेता घनश्याम भुषालले हस्ताक्षर गरेपनि उनि निरन्तर भट्टराईसंग छलफलमा छन् ।

नेपालभित्र पार्टी विभाजन गर्न नहुने नेताहरुको बहुमत संख्या छ । नेपाल पक्षका नेताहरु भिम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,अमृत बोहरा, मुकुन्द न्यौपाने,वेदुराम भुषाल र रघुजी पन्त अलग पार्टी बनाएर जानुपर्ने पक्षमा छन् । यिनिहरुमध्ये अलिकति जनमत भएको नेताको रुपमा भने रावललाई लिइन्छ । तर,रावलको सुदुरपश्चिम प्रदेशको पार्टीमा पकड भएपनि गृहजिल्ला अछाममा भने उनि अल्पमतमा छन् । पार्टी नै विभाजन भएको अवस्थामा भने कति नेताले साथ दिने हो त्यो भने निश्चित भएको छैन । यद्यपी नेपाल पक्षको देशभरी नै संगठन भने रहेको छ ।

नेपाल पक्षमा अर्को समुह भने पुर्व प्रधानमन्त्री झलनाथ खनालको छ । खनाल समुहलाई नेता सुरेन्द्र पाण्डेले परिचालन गरिरहेका छन् । उनि महासचिवमा हालका एमाले महासचिव ईश्वर पोखरेलसंग जम्मा १५ मतले पराजित भएका थिए । पाण्डेको समुहमा राजेन्द्र पाण्डे,माधव अर्याल, गोकर्ण विष्ट, ममता गिरी, गरिमा शाह र पुरुषोत्तम पौडेललगायत नेता छन् ।

त्यसैगरी नेपालभित्रै पुर्व मालेको समुह समेत अस्तित्वमा छ । जसको नेतृत्व योगेश भट्टराई र घनश्याम भुषालले गरिरहेका छन् । भट्टराई र भुषालको पार्टी कार्यकर्ता र बाहिर पनि राम्रो प्रभाव छ । उनिहरुको समुहमा गणेश पहाडी, ठाकुर गैरे, जिवनराम श्रेष्ठ, दिपक भट्ट र रामकुमारी झांक्रिलगायत छन् ।

नेपाल समुहभित्र प्रभावशाली मानिएका नेताहरु पाण्डे, भट्टराई र विष्टले पार्टी फुटाउने विषयमा आफुहरु सहमत नहुने बरु एमालेभित्रै बसेर संघर्ष गर्नुपर्ने सन्देश वरिष्ठ नेता नेपाललाई दिएका छन् । उनिहरुमध्ये भट्टराईले भने आफु कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताइसकेका छन् भने पाण्डेले आईतबार आफु पार्टी एकता कायम राख्न बनेको कार्यदलमा सदस्य भएकाले एक पटक छलफल गरेर मात्र निर्णय लिने बताएका छन् ।