काठमाण्डु – विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गर्दै विपक्षी दलहरुले देउवालाई अदालतबाटै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरेका छन् । त्यस्तै उनीहरुले संसद विघटन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।
अहिले सिंहदरबारमा सबै दलका आ–आफ्नो संसदीय दलको बैठक बसिरहेको छ । बैठकपछि नेताहरु सर्वोच्च अदालतमा पुगेर रिट दायर गर्नेछन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी ५ दलका १४९ सांसदहरू सर्वोच्च जाँदैछन् । कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सोमबार सर्वोच्च जान लागेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरूको हस्ताक्षर र नागरिकता संकलन गरिएको छ ।
शुक्रबार मध्यराति संसद् विघटन गर्ने घोषणा गर्दै निर्वाचनको मिति तोकिएपछि शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेललगायतले नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेर असंवधानिक कदमको विरुद्ध सर्वोच्च जाने निर्णय गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद् विघटन गर्दै कात्तिक २६ मा पहिलो चरण र मंसिर ३ मा दोस्रो चरणका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।




प्रतिक्रिया