काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावल भ्रामक समाचारको सिकार भएका छन् ।
नेता रावलले सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएपछि वीरगञ्जमा भारतीय नागरिकहरुको नागरिकता लिने भीड लागेको भन्दै ट्वीटरमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । तर, उक्त समाचार भ्रामक भएको भन्दै धेरैले चर्को आलोचनापछि नेता रावलले उक्त ट्वीट नै हटाएका छन् ।
‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं’, उनले भनेका थिए ।
भीम रावलको भ्रामक समाचारप्रति रुष्ट बनेका जनता समाजावादी पार्टीका सांसद प्रदीप यादवले त्यसको प्रतिवाद गरेका छन् । उनले वीरगञ्ज यतिबेला कोरोना भाइरस संक्रमणको चेपेटामा रहेको भन्दै धेरै मानिसहरुले मृत्युवरण गरिरहेको बताए । नेता यादवले निषेधाज्ञाका कारण वीरगञ्जको जनजीवन अस्तव्यस्त भइरहेका बेला भीम रावल जस्तो वौद्धिक व्यक्तित्वले भ्रामक समाचार फैलाउनु दुःखद् भएको बताए ।
‘यहाँका स्थानीय प्रशासनले महिनौं देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय बन्द हुँदा कुन कार्यालयबाट नागरिकता वितरण भइरहेको छ भीम रावलजी ? तपाई जस्तो बौद्धिकता भएको मान्छेले भ्रम फैलाउँछ भन्ने मलाई लागेको थिएन,’ उनले भनेका छन् ।

भीम रावलले हटाएको टवीट
भ्रामक समाचार फैलाएका नेता रावलले अन्ततः माफी मागेका छन् । उनले पुरानो समाचारका कारण आफूले गलत ट्वीट गरेको भन्दै माफीसमेत मागेका छन् । नेता रावललले उक्त ट्वीट पनि हटाएका छन् ।
‘मैले वीरगञ्जमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो । तर, उक्त समाचार पुरानो भनी ध्यानाकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु’, उनले भनेका छन् ।





प्रतिक्रिया