चीनसँग शीर्ष नेताहरुको एकै स्वरः तत्काल खोप उपलब्ध गराऊ


काठमाण्डु – नेपालका राजनीतिक दलहरुले खोप उपलब्ध गराउन चिनियाँ सरकारसँग आग्रह गरेका छन् ।

बुधबार चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा शीर्ष नेताहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाललाई खोपको आवश्यकता रहेको भन्दै तत्काल खोपको व्यवस्था गर्न चिनियाँ सरकारलाई माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस संक्रमण उच्च बिन्दुमा पुगेको भन्दै बजारमा अक्सिजनको अभाव रहेको अवस्थामा चीनले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।उनले नेपाली नागरिकहरुको जीवन रक्षाका लागि चीनको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

उनले भने, ‘निकट भविष्यमा पनि यस्तै अभाव हुनसक्ने खतरा कायमै भएकाले आवश्यक सहयोगको अपेक्षा हामी राख्छौँ । नेपाली जनतालाई महामारीबाट बचाउन चीनले बढी भन्दा बढी खोप उपलब्ध गराउन म आग्रह गर्दछु ।’

साथै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

‘सबै सुरक्षित नभइकन कोही पनि सुरक्षित हुँदैन । चीनले नेपाललाई थप खोप सहयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमण बढिरहेको भन्दै नेपाललाई खोपको आवश्यकता रहेको बताए । उनले चीनले थप स्वास्थ्य सामाग्री उपलब्ध गराउनुपर्ने बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपालमा कोरोनाको तेस्रो लहरको अनुमान भइरहेकाले नेपाललाई स्वास्थ्य संकटबाट बचाउन चीनले खोप र अक्सिजन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement