काठमाण्डु – नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन अन्तिम समयसम्म लागिरहने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि नेकपा एमाले विभाजनको अवस्थामा पुगेको छ । तर, एमाले स्थायी कमिटी बैठकले नेपाल समूहलाई रोक्न लागि अन्तिम प्रयास गर्ने निर्णय गरेका बेला नेता विष्टले पनि पार्टीलाई एकताबद्ध बनाउन अन्तिम समयसम्म लागिरहने बताएका हुन् ।
उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना रहेको बताएका छन् ।
‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो’, पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले भने, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’
त्यस्तै उनले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रति आपत्ति जनाएका छन् ।
‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला’, नेता विष्टले भनेका छन् ।




प्रतिक्रिया