सैतीस वर्षीया महिलाले जन्माइन् एकै पटक दश सन्तान, श्रीमान छक्क


एजेन्सी – तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् ।

एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै पहिलो घटना हो ।

पहिला गर्भवती अवस्थामा भिडियो एक्सरे गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिएको र पछि १० वटा बच्चा जन्मिएको बीबीसीले उल्लेख गरेको छ । गोसियामे थमारा सिथोलेका पतिले १० बच्चा जन्मिँदा आफू छक्क परेको बताएका छन् ।

‘सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु । म धेरै कुराकानी गर्न सक्दिनँ,’ उनले भनेका छन् ।

छ वर्षअघि पनि सैँतीस वर्षीया सिथोले जुम्ल्याहा बच्चा जन्माएकोे समाचारमा उल्लेख छ । गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको हो । उनको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

विश्व रेकर्ड हुनसक्ने भएपछि गिनिज वर्ल्ड रेकर्ड्सले यस विषयमा अनुसन्धान थालेको पनि बीबीसीले जनाएको छ । यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement