काठमाण्डु – गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिएको छ । प्रदेश प्रमुख पौडेलले हिजो दिउँसो तीन बजे २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुख पौडेलले दिएको समयभित्र विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाएको थियो । विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । नयाँ सरकार गठनका लागि आह्वान भएको दुई घण्टामै विपक्षी गठबन्धन बहुमत सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।
प्रदेश प्रमुखले दिएको समय दिउँसो ३ बजे सकिएको छ । तर हालसम्म पनि नयाँ मुख्यमन्त्री नियुक्त गरिएको छैन । बहुमत सदस्यको हस्ताक्षर बुझाएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अहिलेसम्म कुनै खबर नआएको कांग्रेस सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए । प्रदेश प्रमुखले गरेको विलम्बप्रति विपक्षी गठबन्धन सशङ्कित बनेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता नेपालीका पक्षमा ३१ सांसद छन् ।
यता प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलका जुटेको छ । काँग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक छलफलमा छन् ।




प्रतिक्रिया