सशस्त्र प्रहरी बल अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको छ : गृहमन्त्री
काठमाण्डु – गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको बताएका छन् । शनिवार हलचोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले यस्ताे बताएका हुन् ।
त्यस्तै उनले कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीको एपीएफ अस्पतालको भुमिका अब्बल रहेको समेत बताएका छन् ।
मन्त्री नियुक्त भएपछि सशस्त्रको प्रधान कार्यालय पुगेका अधिकारीले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच सशस्त्रले गरेको कामको प्रशंसा गरेका छन् । उनले भने–‘भुकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच संगठनले गरेको कामको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अधिकारीलाई संगठनले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पुर्याएको योगदानको पनि गृहमन्त्री अधिकारीले प्रशंसा गरेका छन् । सशस्त्रका महानिरीक्षक खनालले गृहमन्त्रीको निर्देशन अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।