एमाले स्थायी कमिटी बैठक अनिश्चित

एमाले स्थायी कमिटी बैठक अनिश्चित


काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

बुधबार बस्ने भनिएको एमालेको स्थायी कमिटी बैठक वरिष्ठ नेता माधव नेपाल समूहका कारण अनिश्चित बनेको हो । नेपाल समूहलाई सहमतिमा ल्याएर बैठक राख्ने तयारी गरिरहेको संस्थापन पक्षले आवश्यक गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा रोकेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २ गतेका लागि बैठक बोलाउने तयारी भएको विभिन्न सञ्चारमाध्यमहरुलाई बताएका थिए । उनले नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल गर्न असार २ गतेका लागि बैठक बोलाउने तयारी भएको बताएका थिए ।

महासचिव ईश्वर पोखरेलले नेपाल समूहलाई पनि बैठकमा बोलाउने तयारी गरेका थिए । तर, अन्तिम समयमा आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक नबोलइएको एमालेका एक नेताले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको एमालेका उक्त नेताले  जानकारी दिए ।

‘आजका लागि बोलाउने भनिएको रहेछ । तर, माधव नेपाल पक्षसँग औपचारिक सहमति नगरी नबोलाउने भनेर अन्तिम समयमा रोकिएको रहेछ’,ती नेताले भने ।

नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले एमालेको गुटको भेलामा आफूहरु सहभागी नहुने बताइन् । मंगलबार राती सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको भएको बताइन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा नर्फकाएसम्म आफूहरु बैठकमा सहभागी नहुने नेतृ झाँक्रीले जानकारी दिइन् ।

‘हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन’, उनले भनेकी छन्, ‘यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन् । कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु ।’