काठमाण्डु – डडेल्धुराको परशुराम नगरपालिकाकी स्वास्थ्य कर्मचारी अस्मिता धामी मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परिचालन गरेको छ ।
शनिबार जिल्लाको परशुराम नगरपालिका —८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो ।
घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको छ । दुवै टोली आइतबार बिहान धनगढीबाट डडेल्धुरातर्फ हिँडेका छन् ।
यही असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो । उनको अनुहारमा नीलडाम र टाउकोमा घाउ देखिएकाले हत्याको आशंका गरिएको छ ।




प्रतिक्रिया