काठमाण्डु उपत्यकामा चहल पहल सुरु : कोरोना संक्रमणको जोखिम भने उस्तै

काठमाण्डु उपत्यकामा चहल पहल सुरु : कोरोना संक्रमणको जोखिम भने उस्तै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमण कम हुँदै गएपछि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइएसंगै चहलपहल पनि बढेको छ । व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोनाको जोखिम भने कम नभएको चिकित्सकहरु बताउँछन् ।

भाइरसका परिवर्तित स्वरुप झनै घातक रहेकाले थप सावधानी अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाई छ ।

उनी भन्छन्, ‘ कोरोनाको जोखिम अहिले पनि उत्तिकै छ । जोखिम भएपनि हाल संक्रमण दर कम हुँदै गएको छ । आगामी दिनमा पनि यो संख्या घट्दै जान्छ । तर पछिल्लो समय भाइरसको परिवर्तित स्वरुप देखिएको छ । जुन अझ बढी घातक भनिएको छ । त्यसैले अहिलै नै ढुक्क भएर हिँड्न मिल्दैन ।’

विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा माथिको कोरोना संक्रमणदरलाई उच्च जोखिम भनेको छ । तर, नेपालमा संक्रमणदर २२ प्रतिशतभन्दा माथि रहेकै वेला निषेधाज्ञा खुकुलो बनाउने ‘जोखिमपूर्ण’ निर्णय सरकारले गरेको छ । निषेधाज्ञा खुकुलो बनाउँदै गर्दा नेपालमा कोभिड–१९ संक्रमणको ‘डेल्टा भेरियन्ट’को परिवर्तित रुप फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ । नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ‘४७ डेल्टा भेरियन्ट’ पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप ‘के ४१७ एन म्युटेसन’ देखिएको छ । यस्तो अवस्थामा जोखिम कम छ भन्न नमिल्ने डा. पुनको भनाइ छ ।

उनी भन्छन्, ‘भाइरस जति धेरै फैलियो म्युटेशन हुने सम्भावना त्यति नै हुन्छ । म्युटेशन भएपछि भाइरसको नयाँ स्वरुपहरु देखा पर्न थाल्छ । जुन कतिको संक्रामक या जटिल खालको हुन्छ सहजै अनुमान लगाउन सकिँदैन । अहिले देखिएको डेल्टा भेरियन्टको नयाँ रुपको पनि अध्ययन भइरहेको छ । यो डेल्टाकै म्युटेड भएकाले यो बढी संक्रामक छ भन्ने बुझाइ हो तर यसको असरबारे अध्ययन भइरहेको छ ।’

निषेधाज्ञा खुलेपनि जनस्वाथ्यका मापदण्ड पालन नभए पुनः संक्रमण बढ्ने तर्फ नागरिक स्वयम सचेत हुनुपर्ने उनले बताए । खोप पनि प्राप्त नभएको र जनस्वाथ्यका मापदण्ड पनि पालना नभए जोखिम झन बढ्ने डा पुनको भनाइ छ । जनस्वास्थ्यका मापदण्ड कडाईका पालना भएको देखिँदैन । कोरोना विरुद्धको खोप पनि सबै समूहले पाइसकेका छैनन् । यही दुई कारण कोरोनाको जोखिम सधैं रहने डा पुनको भनाई छ ।

उनी भन्छन्, ‘आगामी दिनमा भयावह स्थिति आउन नदिन सबैले सबैभन्दा पहिले स्वाथ्यका मापदण्ड पालना गर्नै प¥यो । सबै समूहलाई खोपको व्यवस्था हुनुप¥यो । हामी सबैले सजगता अपनायौँ भने संक्रमण नफैलियलाकी भन्ने मेरो बुझाई हो ।’

निषेधाज्ञा खुकुलो बनेसंगै नागरिक अझ सचेत बन्नुपर्ने डा. पुन बताउँछन् । कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने अहिले नै भन्न नसकिने बताउँदै उनले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढ्न सक्छ । यसअघि कोरोनाबाट सुरक्षित रहेकाहरु अब संक्रमित हुन सक्छन् । यसको जोखिम त कहिलेसम्म रहन्छ ठ्याक्कै भन्न सकिँदैन अहिले संक्रमित घटेकै हो । यदी निषेधाज्ञाका कारण यसको चेनब्रेक भएको रहेछ भने अब खुलेसंगै फेरी बढ्न सक्छ यो अध्ययनकै बिषय हो ।’

नेपालमा वैशाखबाट बढ्न थालेको कोरोना संक्रमण दर हाल घट्दो क्रममा छ । कोरोना संक्रमणदर घटेसंगै काठमाण्डु उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । आजबाट निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन भएका छन् ।

यस्तै फेन्सी पसल, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाएको हो ।