जस्तो सुकै सङ्कटमा पनि हामी एमालेमै रहन्छौं : मणि थापा [अन्तर्वार्ता]


काठमाण्डु –  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि नेपाली राजनीति तरंगित बनेको छ ।

२०७७ फागुन २३ गतेको सवोच्चको फैसलापछि केही पूर्व माओवादी नेताहरुले एमालेमा बस्ने निर्णय गरे भने केहीले एमाले छाडेर माओवादीलाई रोजेका छन् । पूर्व माओवादीलाई रिझाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सामेल समेत गराए । एमाले प्रवेश गरेका नेताहरुलाई माओवादीले कारवाही गर्दै सांसद पद खारेज भयो ।

२०७८ जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिए संगै माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए ।

साथै ओलीले गठन गरेको एमालेको १० औं महाधिवेशन कमिटीले गरेका निर्णय सर्वोच्चले अमान्य हुने आदेश जारी गरेपछि एमालेमा प्रवेश गरेका नेताहरुको राजनीतिक भविश्य अन्यौलमा परेको छ । सङ्कटपूर्ण समयमा माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूको आगामी रणनीति के हुन्छ ? आम नागरिकको चासोको विषय बनेको छ ।

प्रस्तुत छ यही विषयमा केन्द्रीत रहेर काठमाण्डुपाटीका लागि टेकबहादुर खातीले नेता मणि थापासँग गरेको संक्षिप्त कुराकानीको अंश  :

सर्वोच्च अदालतले नेकपा एमालेको १० औँ महाधिवेशन कमिटीलाई मान्यता दिएको छैन् , यसको मतलब तपाई एमालेको केन्द्रिय कमिटी सदस्य पनि रहनु भएन ?

मन्त्री पदका लागि हामीले राजनीति गरेका होइनौँ । राजनीतिक रूपले अहिले म जुन ठाउँमा छु त्यो एउटा राजनीतिक सोधपुछ गरेर निर्णय गरेको हुनाले मन्त्री र सर्वोच्चको फैसलाले राजनीतिज्ञहरूलाई कुनै असर गर्दैन ।

एमालेमै रहनुहुन्छ कि अब फेरि माओवादी केन्द्र तिरै फर्किएर प्रचण्डसंग सहकार्य गर्ने तयारी छ ?

प्रचण्ड कमरेडतिर जाने कुरा समाप्त भइसक्यो । हामी अहिले जो ठाउँमा छौं कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा हामी छौं । हामीले राजनीतिक सोधपुछ गरेर निर्णय गरेको हुनाले त्यही रहन्छौं । त्यहीँबाट हामीले राजनीतिक भूमीका निभाउँछौं ।

आफैंलाई निर्वाचित गराएको पार्टीलाई लात हान्न मिल्छ ?

होइन, त्यो लात हान्ने भन्ने कुरा हैन । त्यो त प्रचण्ड कमरेड र ओली कमरेडको बिचमा पार्टी एकता भयो त्यो एकतामा हामी समावेश भयौँ र हामीले नेकपाको पहिलो अध्यक्ष केपी आलीलाई साथ दियौं ।

पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग कस्ता विषयमा छलफल हुन्छन् ?

नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ तरिकाबाट केन्द्रिकरण गर्नुपर्छ । कम्युनिष्ट आन्दोलन फेरि बचाएर लानुपर्छ भन्ने विषयमा कुराकानी भइरहेको छ ।

नेकपा एमाले बच्यो र पार्टी २०७५ जेठ २ मा फक्र्यो भने तपाईहरु के गर्नुहुन्छ ?

त्यो धेरै राम्रो हुन्छ । हाम्रो लागि पनि राम्रो अवसर हो । त्यहाँ चाहीँ कम्युनिष्ट पार्टीको केन्द्रिकरण हुन्छ ।

केन्द्रिय कमिटीमा तपाई समेटिनु हुन्न नी !

हामीलाई केही आपत्ति छैन । हामी फेरी नयाँ धुर्विकरणको प्रक्रियामा आएको हुनाले हामीलाई यो विषय आपत्तिजनक छैन ।

प्रभु शाहसहितका केही नेताहरुले त एमालेको बैठक बहिस्कार गर्दै आउनुभएको चर्चा छ । एमालेमा तपाईँहरुको उपयोगिता सकिएको हो ? 

एमालेमा हाम्रो उपयोगिता सकिएको पनि हैन । माओवादी त्यागेका प्रभु शाह पनि बैठकमा गएका छन् । त्यो त बाहिर आएका हल्लाहुन मात्र हुन । हामी सबै एक ठाउँमा छौं । कसै कसैलाई राजनीतिमा उपयोग गर्ने प्रश्न होइन हामी जहाँ छौं सहि ढंगले काम गरिरहेका छौं ।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल पुर्नगठनमा बादलपत्नीलाई राखेकोमा तपाईहरुको असन्तुष्टी देखियो नि !

मन्त्रिमण्डल पुर्नगठनमा हाम्रो असन्तुष्टी होइन । जहाँसम्म नैनकलाजीको विषय छ – अब बादलजीले नाम छान्नु भएको होइन । प्रधानमन्त्रीले छान्नु भएको हो । प्रधानमन्त्रीले विषेशाअधिकार प्रयोग गर्नु भयो । दुई जना माओवादीबाट पर्नु भयो ।

अब कसरी अगाडि बढ्नुहुन्छ ?

हामी अहिले एमालेमै छौँ । हामी त्यहि रहन्छौँ र त्यहीबाट देश र जनता, माक्सवादको सेवा गर्छौं यसमा कुनै दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement