काठमाण्डु – स्कलर्स स्पेसले न्युनतम शुलकमा विभिन्न तालिम दिने भएको छ । मानव बेचबिखनविरुद्ध र मानव बेचबिखनबाट पीडितलाई सहयोग गर्ने उधेश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरो र माइती नेपालको सहकार्यमा अभियान सुरु गर्न लागेको स्कलर्स स्पेसका संस्थापक रोहित सेन्चुरीले बताए ।
धेरै तालिम निःशुल्क रहेपनि केही तालीमकालागि भने न्यूनतम ३ सय रुपैयाँ शुल्क तोकिएको छ । यसअन्तर्गत शेयर मार्केट, पब्लिक स्पिकिङ, आर्ट अफ लिभिङ, संस्कृत, मेकअप, क्यानभा, फोटोशप, इलुस्ट्रेटर, वर्डप्रेस, बग बाउन्टी एन्ड साइबर सेक्युरिटी, एचटीएमएल एन्ड सीएसएस, पाइथन जाभा स्क्रिप्ट, अटोक्याड, ईट्याब्यस, स्केचअप, आर्क जीआईएस, क्लाउड कम्प्युटिङ, गिटहब लगायतका तालिम सञ्चालन हुनेछ ।
असार १५ गतेबाट सुरु हुने अभियानमा मानव बेचबिखनविरुद्ध जागरुकता फैलाउन विभिन्न ‘टक शो’ र ‘प्यानल डिस्कसन’ का साथै विभिन्न विषयअन्तर्गतका ट्रेनिङमार्फत क्षमता विकासका कार्यक्रमहरु पनि हुनेछ । यसै अभियानमा हरेकको आवाज र कदम महत्वपूर्ण छ भन्ने संदेश लिएर विभिन्न क्षेत्रबाट खेलाडी, समाजका परिवर्तक र विभिन्न समाजसेवीहरु मानव बेचबिखनविरुद्धमा आफ्नो सहभागिता जनाउँदै छन् ।
समाजलाई केहि दिनुपर्छ भन्ने मूलभावका साथ सञ्चालन हुने यो अभियानमा करिब २५ वटा ट्रेनिङ सेसन हुनेछन् । विभिन्न विधामा सञ्चालन गरिने ट्रेनिङहरू स्कलर्स स्पेसको वेबसाइट https://www.scholarsspace.com/campaign मा गएर रजिस्टर गर्न सकिनेछ । तालिमबाट उठेको रकमा साउन १५ गते माईती नेपाललाई हस्तान्त्रण गर्ने आयोजकले जनाएको छ । यस अभियानमा आईटी स्टुडेन्ट्स अफ नेपाल र जिनेसी क्लाउड एकेडेमी सहजकर्ताको रूपमा र सिस्टरहूड नेपाल प्रभाव साझेदारको रूपमा जोडिएका छन् ।




प्रतिक्रिया