काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना भएपनि ढुक्क् भएर बस्न सकिने अवस्था नरहेको बताएका छन् ।
सोमबार विपक्षी पाँच दलको गठबन्धनले पेशागत बुद्धिजीविसँग गरेको अन्तरक्रियाका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकार पक्षले सर्वोच्च अदालतलाई दवाव र प्रभावमा पार्न खाजेको आरोप लगाए ।
‘तथ्य प्रमाणका आधारमा संसद पुनर्स्थापना हुन्छ । तर, पुनर्स्थापना हुन्छ सरकार बन्छ भनेर ढुक्कले बस्न सक्ने अवस्था छैन । ओलीले षड्यन्त्रका गोटीहरु चाल्न सक्छन् । यहाँ ठूलै चलखेल भइरहेको गन्ध आइरहेको छ,’ उनले भने, ‘त्यसैले खतराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भयो भनेर ढुक्क हुने अवस्था छैन ।’
प्रचण्डले अहिलेको सरकारले गरेका सबै अवैधानिक नियुक्ति खारेज गरिने समेत बताए । ‘मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरिरहेको छु, यस्ता नाटकीय र षडयन्त्रमूलक ढंगले गरिएका सबै नियुक्ति खारेज गरेर एउटा मान्यता स्थापित हुनेगरी पुनर्नियुक्ति गर्नुपर्छ र खारेज हुन्छ भन्नेमा म विस्वस्त छु ।’ उनले भने ।




प्रतिक्रिया