काठमाण्डु – उदयपुरको बेलकामा गाउँले र प्रहरीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेले विरोध गरेका हुन् ।
सरकारको ६ जेठको निर्णय अनुसार बेलका नगरपालिका वडा नम्बर ३ स्थित कोशी टप्पुको करिब १ सय ७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय प्रदशनमा उत्रिएका हुन् ।
कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रालि सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयबासीलाई उठाउने प्रयास गरेपछि स्थानीयबासी नगरपालिका घेर्न आएका थिए । बेलका नगरपालिका घेर्न पुगेका स्थानीयबासीलाई नियन्त्रण गर्न प्रहरीले २५ राउण्ड अश्रु ग्यास र १० राउण्ड हवाई फायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार गाउँलेले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि झडप भएको होे ।
प्रदर्शनकारीले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको डीएसपी गौतमले बताए । उक्त झडपमा सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका ४ जना गरी ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । त्यस्तै १० जना गाउँले पनि घाइते भएका छन् ।
घाइते प्रहरीको सदरमुकाम घाइघाटमा उपचार भइरहेको छ । प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन् ।




प्रतिक्रिया