काठमाण्डु – सरकारले यसअघि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लागाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।
पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए ।
पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय ले जनाएको छ ।
साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् ।
खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।





प्रतिक्रिया