काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाण्डु महानगरले ‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्रहरु नष्ट गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भन्दै आपत्ति जनाएका छन् ।
‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ’, उनले भनेका छन् ।
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाण्डुको एक पर्खालमा निर्माण गरेका थिए ।
उनले डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको उल्लेख गरेका छन् ।
‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’, विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया