संसद विघटन मुद्धा : सभामुखको पक्षमा क–कसले गर्दैछन् बहस ?

संसद विघटन मुद्धा : सभामुखको पक्षमा क–कसले गर्दैछन् बहस ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाको पक्षमा कानुन व्यवसायीले बहस गर्दैछन् । अब बहसका लागि ७ घण्टाको मात्रै समय बाँकी छ । बाँकी ७ घण्टामध्ये २ घण्टा सभामुख पक्षका कानून व्यवसायीलाई छुट्याइएको छ ।

संवैधानिक इजलासले मुद्दा छिटो किनारा लगाउन बहसका लागि समय व्यवस्थापन गरेको थियो । वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस गर्नेछन् ।

उनीहरुपछि विपक्षी गठबन्धनका १४६ सांसदहरुले दायर गरेको रिटका तर्फबाट जवाफी बहस सुरु हुने छ । जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् ।

जवाफी बहसपछि एमिकस क्यूरीको तर्फबाट नेपाल बार र सर्वोच्च बारका २–२ जना गरी ४ जना कानून व्यवसायीले आफ्नो राय प्रस्तुत गर्नेछन् । एमिकस क्यूरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् । सर्वोच्च बारबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि दावी नपुगेको ठहर राष्ट्रपतिले गरेपछि प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले रिट दायर गरेका थिए । रिटमा प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश, निर्वाचन घोषणा बदर लगायतका मागदावी गरिएको छ ।