काठमाण्डु – काठमाण्डु उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक सवारी साधन चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा सार्वजनिक सबैखाले गाडी गुड्न थालेका हुन् ।
प्रशासनले गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम बनाएको छ । यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । मास्क नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । गाडीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ । यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ ।
यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डु उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।




प्रतिक्रिया