काठमाण्डु – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकले सहमतिको मस्यौदा तयार पार्ने केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए ।
मंगलबार बिहान अनौपचारिक रुपमा बसेको कार्यदलको बैठकले तय गरेका सोही मस्यौदालाई अन्तिम रुप दिने उनले बताए ।
‘अनौपचारिक रुपमा सहमतिका लागि धेरै कामहरु भएका छन् । त्यसैलाई कार्यदलले अघि बढाउँछ,’ नेता नेम्वाङले भने
त्यस्तै नेपाल समूहका संयोजक भीम रावलले सहमतिका लागि प्रयास भएको र आजै महत्वपूर्ण निर्णय हुने जानकारी दिए ।
कार्यदलको बैठकपछि आजै ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेको एक कार्यदल सदस्यले जानकारी दिए ।
पार्टी अध्यक्ष ओलीले शुक्रवार र शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमार्फत तीन दिन भित्र हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेट दिएका थिए । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेको छ ।




प्रतिक्रिया