काठमाण्डु – चितवनबाट अर्की युवती पनि बेपत्ता भएकी छन् । नवलपुरको गैडाकोट-४ की २१ वर्षीया विना सापकोटा चितवनबाट ८ दिनदेखि बेपत्ता भएकी हुन् ।
गैडाकोटबाट प्रेमीसँग चितवन गएकी सापकोटा विगत ८ दिनदेखि बेपत्ता भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । एसपी अधिकारीले युवती हराएको विषयमा खोजी भइरहेको समेत बताए । उनले केटीका प्रेमी र अर्की युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।
चितवनमा ११ दिनदेखि बेपत्ता भएकी अर्की युवतीको शव केही दिनअगाडि फेला परेको थियो । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीय सुजिता भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो । अहिलेसम्म उनको हत्याको कारण पत्ता लाग्न सकेको छैन् ।
भएको के हो ?
आफ्ना प्रेमीको अर्कै युवतीसँग चक्कर चलेको थाहा पाएपछि बिनाले ती युवतीसँग भेट गर्न दबाब दिइन् । उनको दबाब थेग्न नसकेका प्रेमीले उनलाई गैडाकोटबाट स्कुटरमा राखेर चितवन ल्याए ।
प्रेमीको साथी भनिएकी युवतीसँग दुवै जनाले भेट गरे । युवतीसँगकाे कुराकानी भएपछि बिना र उनका प्रेमी गैडाकोटतर्फ फर्किरहेका थिए । उनीहरू फर्किँदा रात परिसकेको थियो । प्रेमी पैसा सकिएकाले बाटोमा स्कुटर रोकेर एटीएम बुथभित्र छिरे ।
बिना बाहिरै बसिन । पैसा झिकेर पर्किएका प्रेमीले बिनालाई देखेनन् र परिवारलाई खबर गरे । परिवारले पनि चितवन र नवलपरासी प्रहरीलाई खबर गरेको थियो । बेपत्ता युवतीको दुवै पक्षले खोजी गरिरहेका छन् ।




प्रतिक्रिया