काठमाण्डु – विज्ञहरुले कोरोना भइरसविरुद्धको खोप नलगाएका व्यक्तिहरु ठूलो खतरामा रहेको बताएका छन् । युनिभर्सिटी मेडिकल सेन्टरमा संक्रामक रोग विभागका प्रोफेसर डाक्टर विलियम स्काफनरले खोप नलगाएका मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु सम्भावित भेरियन्टको ठूलो फ्याक्ट्रि हुनसक्ने बताएका हुन् ।
उनले नयाँ कोरोना भेरियेन्ट उत्पन्न हुने एकमात्र स्रोत भनेको संक्रमित व्यक्तिको शरीर भएको बताए । यसकारण पनि खोप नलगाउनेहरु सम्भावित भेरियेन्टको ‘फ्याक्ट्री’ भएको प्रोफेस स्काफनरले बताएका छन् । ‘जति बढी खोप नलगाउने मान्छे, त्यति नै गुणा बढी भाइरसले आफूलाई फैलाउने अवसर पाउँछ । त्यसरी भाइरस फैलदै जाँदा यसले जिन परिवर्तन गर्ने मौका पाउँछ र नयाँ भेरियेन्ट उत्पन्न हुन्छ । यो भनेको पछिका लागि अत्यन्तै गम्भीर समस्या हो,’ उनले भनेका छन् ।
यसबाट संक्रमित हुने व्यक्तिबाट अर्कामा सर्दा भाइरसको नयाँ रुप पनि सँगै फैलिरहेको हुन्छ । यो रुपान्तरित भाइरस पर्याप्त फैलनमा सफल भएपछि यसैलाई नयाँ ‘भेरियेन्ट’ को नाम दिइन्छ । केहि समय अघि विश्व स्वास्थ्य संगठनले भनेको थियो, ‘भाइरसलाई हामीले जति फैलन दियौँ त्यति नै यसले आफूलाई बदल्ने मौका पाउनेछ ।’ त्यसैले पनि खोप नलगाएका मानिसहरुले भाइरसलाई फैलन मात्र नभएर त्यसलाई म्युटेट हुनमा पनि मद्दत गरिरहेको हुने संक्रमक विषेशज्ञहरुले बताएका छन् ।
अहिले भेरियेन्टहरुको उपस्थिति नेपालसहित विश्वभर नै बढिरहेको छ । यसमा बी.१.१.७ (अल्फा भेरियेन्ट) पहिलोपटक बेलायतमा देखा परेको थियो । यसपछि अर्को बी.१.३५१ (बेटा) भेरियेन्ट दक्षिण अफ्रिाकामा भेटियो । त्यस्तै डेल्टा भेरियेन्ट नामाकरण गरिएको बी.१.६१७ भेरियेन्ट भारतमा पहिलोपटक देखा पर्यो । वसन्तको अन्त्यतिर अमेरिकामा अल्फा भेरियेन्ट हावी भइरहेको थियो तर अहिले भने डेल्टा भेरियेन्ट हालसम्मकै संक्रामक भेरियेन्ट बन्न पुगेको छ । र धेरै देशहरुमा यही भेरियेन्ट व्याप्त बन्दै जाने प्रक्रियामा रहेको देखिएको छ ।
अहिले प्रयोगमा ल्याइएका खोपहरु यी भेरियेन्ट विरुद्ध सुरक्षा दिलाउन सक्ने बताइएको छ तर भाइरसले जीन परिवर्तन हुने अवसर पाइरह्यो भने यस वास्तविकतामा कुनैपनि बेला परिवर्तन आउन सक्छ । त्यसकारण पनि डाक्टर र स्वास्थ्यविद्हरुले धेरै भन्दा धेरै मानिसले छिटै खोप लगाऊन् भन्ने चाहेका हुन् ।




प्रतिक्रिया