बालुवाटार जग्गा प्रकरणः गच्छदार अझै अदालत पुगेनन्, काठमाण्डुको घर खोज्दै अख्तियार

बालुवाटार जग्गा प्रकरणः गच्छदार अझै अदालत पुगेनन्, काठमाण्डुको घर खोज्दै अख्तियार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार राजनीतिक क्रियाकलापमा सक्रिय छन् । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको फरार सूचीमा रहेका गच्छदारले शक्तिको आडमा अदालतको म्याद तामेली गुजार्दै आएका छन् ।

यसअघि विशेष अदालतले पटक–पटक गच्छदारको सुनसरीस्थित घरमा म्याद तामेली टाँस गरेको थियो । तर, गच्छदार सुनसरीस्थित घरमा फेला नपरेपछि अदालत नयाँ ठेगानाको खोजीमा जुटेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदारको काठमाण्डुको ठेगाना पत्ता लगाउने जिम्मा अख्तियारलाई दिइएको बताए ।

‘उहाँ सुनसरीमा नबस्ने भएकाले नयाँ ठेगाना पत्ता लगाउन । उहाँको अभियोगपत्रमा भएको बाहेक अन्य ठेगाना पत्ता छ कि छैन् भनेर अख्तियारबाट मगाएर छ भने त्यसैअनुसार म्याद जारी गर्नु भन्ने आदेश आएकाले हामीले अख्तियारलाई पत्र लेखेका छौं । अख्तियारले जवाफ दिएको छैन्,’ उनले भने ।

प्रवक्ता पाण्डेयले डेढ महिना अगाडि अख्तियारलाई नयाँ ठेगाना पत्ता लगाउन जिम्मा दिएको भएपनि हालसम्म कुनै जवाफ नपठाएको बताए ।

‘हामीले अख्तियारलाई यथाशिघ्र छिटो समय ल्याउ भनेका छौं । डेढ महिना भयो हामीले ठेगाना पत्ता लगाउन भनेर पत्र पठाएको लकडाउन भएकाले ढिलो भएको छ,’ उनले भने ।

अदालतले सुनसरीस्थित निवासमा म्याद तामेली गरिरहँदा गच्छदार भने काठमाण्डुमा राजनीतिक दौडधुपमा व्यस्त थिए । अदालतले गत चैत अन्तिम साता गच्छदारको सुनसरीस्थित घरमा म्याद तामेली गरिरहँदा उनी काठमाण्डुमा राजनीतिक दौडधुपमा व्यस्त थिए ।

गच्छदार माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन प्रक्रियामा सक्रिय थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका गच्छदार पार्टीका नियमित बैठक र विपक्षी दलसँगका बैठकमा सहभागी हुँदै आइरहेका छन् । तर, विशेष अदालतमा उपस्थित हुन पाएको म्याद भने गच्छदारले गुजार्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको काठमाण्डुको नयाँ ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । प्रवक्ता नारायणप्रसाद रिसालले उनको काठमाण्डुस्थित घरको ठेगाना पत्ता लगाउने प्रयास जारी रहेको जानकारी दिए ।

गत चैतमा विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले गच्छदारको घरमा अन्तिम पटक म्याद तामेल गर्न आदेश दिएको थियो ।

मुद्दा दायर भएको २ वर्ष पुग्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, उनी अदालत पुगेनन्  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।

र यो पनि

विजय गच्छदारसहित १ सय ७५ जनालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो
बालुवाटार जग्गा प्रकरणः गच्छदार एक वर्षदेखि फरार, घरमा म्याद तामेली टाँसियो
बालुवाटार जग्गा प्रकरणः अदालतको म्याद तामेली गुजार्दै गच्छदार, बयान बिनै आदेश दिने तयारी
बालुवाटार जग्गा प्रकरणः कारबाहीबाट जोगिन अदालतबाट भाग्दै विजय गच्छदार
अदालतको फरार सूचीमा रहेका विजय गच्छदार सरकार गठनमा सक्रिय