काठमाण्डु — चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पोष्टमार्टमबाट खुलेको छ । काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा सुजिताको शव पोष्टमार्टम गरिएको हो ।
पोष्टमार्टम रिपोर्टबाट शरीरमा चोटपटक नदेखिएको चिकित्सकहरूले जानकारी दिएका छन् । चिकित्सकहरुका अनुसार पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी छ । अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको बताएका छन् । ब्लेडको चोट मृत्युको कारण नभएको चिकित्सकहरूको निष्कर्ष छ ।
पोष्टमार्टम रिर्पोटबाट भण्डारीको ‘हाइमेन नच्यातिएको’ भेटिएको छ । ‘हाइमेन नच्यातिएको’ रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ । भि–सेरा परीक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ ।
गत असार ११ गते बिहान ६ बजे साथिकोमा जान्छु भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन् ।
च्याउ खोज्न गएका स्थानीयले वनको बीचको झ्याङमा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिए लगत्तै प्रहरी टोली घटनास्थल पुगको थियो । घटनास्थलमा ‘स्प्राइट’को बोतल पनि भेटिएको थियो । प्रहरीले स्प्राइटमा विष हालेर सेवन गरेको हुनसक्ने आशंका गरेको छ ।
तर, भण्डारीका आफन्तले भने हत्या भएको भन्दै हत्यारा सार्वजनिक गर्न प्रहरीलाई दबाब दिइरहेका छन् । सुजिताले घरबाट निस्केको दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले जानकारी दिएका छन् । आफू अपहरण परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसेको आफन्तको गुनासो छ ।
चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनास्थलमा विषको बोतल भेटिएकाले हत्या हो वा आत्महत्या यकिन नभएको जानकारी दिए । ‘हत्या जस्तो पनि देखिन्छ,’ उनले भने, ‘तर शव नजिकै विषको बोतल पनि भेटिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै हत्या होकी आत्महत्या हो भन्न सकिन्छ ।’
घटनाबारे शुक्ष्म ढंगले अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । भण्डारीको हत्या नै भएको आशंका गरिए पनि यसको निक्र्यौल पोष्टमार्टम रिपोर्टले मात्रै गर्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले सुजिताको मोबाइल भेटिएकोले थप केहि कुरा पत्ता लाग्ने जानकारी दिए । उनले शव भेटिएको स्थान नजिकै मोबाइल फेला परेको र कल डिटेल निकाल्ने तयारी भइरहेको जानकारी दिए ।
प्रवक्ता थापाले सुजिताले लगाएको चप्पल खोजी भइरहेको जानकारी दिए । उनले विष, मोबाइल र झोला भेटिएको र अब चप्पलको खोजी भइरहेको बताएका छन् ।
प्रहरीले अनुसन्धानलाई तिव्रता दिए पनि हालसम्म हत्या हो कि आत्महत्या हो यकिन गर्न सकेको छैन । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय चितवनको टोली सक्रिय छ ।




प्रतिक्रिया