पत्याउनुहुन्छ ? साइकल चलाएरै खेल उपाधि, मनोरञ्जन, आरोग्यतादेखि आयआर्जनसम्म

पत्याउनुहुन्छ ? साइकल चलाएरै खेल उपाधि, मनोरञ्जन, आरोग्यतादेखि आयआर्जनसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म साइकल चलाउने युवाको संख्या बढ्दो छ । साइकललाई मनोरञ्जन र यात्राको साधनका रूपमा मात्र नभई खेलकुद, साहसिक यात्रा र पर्यटनसँग जोडेर अघि बढाउने युवाहरू पनि धरानमा उत्तिकै छन् ।

धरान–११ का १८ वर्षीय दीपसागर तामाङको साइकल यात्रा अहिले साहसिक तथा प्रतिस्पर्धात्मक साइक्लिङसम्म पुगेको छ । सानै उमेरदेखि साइकल चलाउन रुचि राख्ने तामाङ जुनियर नेसनल च्याम्पियनसमेत भइसकेका छन् । बाल्यकालमा साथीहरूले साइकल चलाएको देखेर उनलाई पनि चलाउने रहर जाग्यो । सामान्य साइकलबाट सुरु भएको उनको यात्रा अहिले नेपालका विभिन्न स्थान हुँदै भारतको आसामसम्म र माउन्टेन बाइकिङ प्रतियोगितासम्म पुगेको छ ।

‘साथीहरूको साइकल देखेर मलाई पनि चलाउन मन लाग्यो । अनि आमा, बुबाले साइकल किनिदिनुभयो र चलाउन थालेँ । साइकलिङ अहिले मेरो जीवनकै महत्वपूर्ण हिस्सा बनेको छ,’ उनले भने ।

तामाङले भारतको आसामसहित नेपालका पोखरा, काठमाडौँ, ओखलढुङ्गा, गाईघाटलगायत विभिन्न स्थानमा आयोजना भएका साइक्लिङ कार्यक्रम तथा यात्रामा सहभागिता जनाइसकेको बताए । उनको यात्रा अहिले माउन्टेन बाइकिङको प्रतिस्पर्धात्मक यात्रामा परिणत भएको छ । उनको महत्वपूर्ण अनुभवमध्ये कञ्चनजंघा आधार शिविरसम्मको यात्रा पनि एक हो ।

ताप्लेजुङमा गत वर्ष आयोजना गरिएको ‘सिरिजंघा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत उनीसहित ४ जनाको टोलीले कञ्चनजंघा आधार शिविरसम्म साइकल यात्रा गरेका थिए, जुन जुनियर साइक्लिस्टमध्ये विश्वकै पहिलो टोली हो ।

धरानबाट सुरु भएको यात्रा सहज भने थिएन । कठिन भौगोलिक अवस्था, भीरपाखा र अप्ठ्यारो बाटोका कारण कतिपय स्थानमा साइकल चलाएर तथा कतिपय ठाउँमा बोकेर अघि बढ्नुपरेको उनले बताए । ‘त्यहाँसम्म पुग्न सजिलो थिएन । बाटो निकै अप्ठ्यारो थियो । साइकल कुदाउन सकिने ठाउँमा कुदाएर लग्यौँ, नसकिने ठाउँमा बोकेर हिँड्नुपर्‍यो । ३ दिनसम्म कठिन बाटो छिचोल्दै हामी कञ्चनजंघा आधार शिविर पुग्न सफल भयौँ,’ उनले भने ।

त्यसैगरी तामाङले अन्नपूर्ण सर्किटमा आयोजना हुने माउन्टेन बाइक रेस ‘याक अट्याक’मा समेत सहभागिता जनाइसकेका छन् । लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै मुस्ताङको तातोपानीमा पुगेर समापन हुने ७ दिने अन्तर्राष्ट्रिय रेसमा उनले ५० हजार पुरस्कारसहित दोस्रो स्थान हासिल गरेका थिए ।

त्यस्तै ‘२०औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री’ तथा ‘१२औँ डाउनहिल च्याम्पियनशिप’मा उनले जुनियरतर्फ दुवै विधामा प्रथम स्थान हासिल गरेका थिए । साइकल यात्राका क्रममा कहिलेकाहीँ अप्ठ्यारा अवस्थाको सामना गर्नुपरे पनि ती अनुभवले आफूलाई निरन्तर साइक्लिङका यात्रामा लाग्न प्रेरित गरेको उनी बताउँछन् । तामाङले सानै उमेरमा जुनियरतर्फबाट दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगितामा सहभागी भई उपाधि जितिसकेका छन् । ‘अहिलेसम्म अन्य क्षेत्रतिर लाग्ने सोच बनाएको छैन, साइक्लिङ खेललाई नै निरन्तरता दिने र यसै क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य छ । अब हेरौँ, के हुन्छ ?’ उनले भने ।

धरानका युवाका लागि भने साइक्लिङको उद्देश्य र अनुभव फरक–फरक छन् । कसैले साथीहरूसँग सुरु गरेको यात्रा खेलकुदसम्म पुर्‍याएका छन् भने कसैले दैनिक आवतजावत, स्वास्थ्य र मनोरञ्जनसँग जोडेर निरन्तरता दिएका छन् । धरान–१२ का अमित श्रेष्ठका लागि साइक्लिङ स्वास्थ्य, मनोरञ्जन र दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । सडकको बढ्दो व्यस्तता र सवारीसाधनको चापबिच आफूलाई सक्रिय र स्वस्थ राख्ने माध्यमका रूपमा उनले यसलाई अपनाएका छन् । अस्तव्यस्त सडक, सवारीसाधनको चाप र बढ्दो प्रदूषणबिच आफूलाई गतिशील तथा स्वस्थ राख्ने क्रममा साइकल चलाउन सुरु गरेका युवाहरू धरानमा सयौँ भेटिन्छन् ।

श्रेष्ठ भन्छन्, ‘सुरुमा आवश्यकता जस्तो लागेको साइकल चलाउने कुरा बिस्तारै रहर बन्यो र अहिले अभिन्न जीवनशैली बनेको छ ।’ उनका अनुसार साइकलमा यात्रा गर्दा गति र प्रकृतिको सामीप्यता महसूस गर्न पाइन्छ । ‘शारीरिक रूपमा यसले ऊर्जावान् र तन्दुरुस्त राख्न ठूलो मद्दत गर्छ । शारीरिक स्वास्थ्यभन्दा ठूलो साइक्लिङको सकारात्मक प्रभाव मानसिक स्वास्थ्यमा पर्छ । साइकल चलाउँदा नयाँ र सकारात्मक विचारहरू आउँछन्,’ उनले भने । धरान उकालो, ओरालो र प्राकृतिक वातावरण भएको ठाउँ भएकाले साइक्लिङका लागि उपयुक्त रहेको उनको भनाइ छ ।

सयौँ साइकल यात्री कठिन उकालो पार गर्दै विभिन्न ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्दा देखिने दृश्य उत्साहजनक र गौरवपूर्ण हुन्छ । साइकललाई स्वास्थ्यसँगै आफ्नो भूगोल, प्रकृति र इतिहास बुझ्ने माध्यमका रूपमा पनि लिन सकिन्छ । साइकल यात्राले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ । आफ्नो स्वास्थ्यसँगै भूगोल र इतिहासलाई नजिकबाट बुझ्न चाहनेका लागि साइकल उपयुक्त माध्यम बनेको छ ।

मोरङको केराबारीमा जन्मिएका २४ वर्षीय अनिस तामाङको साइकलसँगको सम्बन्ध भने फरक परिस्थितिबाट सुरु भयो । उनले करिब १२ वर्षअघिदेखि साइकल चलाउन थालेका हुन् । घरायसी तथा आर्थिक समस्याका कारण ८ कक्षापछि पढाइ छाड्नुपरेपछि उनी अहिले आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । सानै उमेरदेखि साइकल चलाउने इच्छा भए पनि आफ्नै साइकल नभएका उनले त्यसै क्रममा पत्रिका अरूका घरघरमा पुर्‍याउने काम सुरु गरे । पत्रिका पुर्‍याएबापत साइकल चलाउन पाइने भएपछि उनको रुचि झनै बढ्यो ।

करिब ७–८ वर्षसम्म पत्रिका बाँड्ने काम गरेँ । अरूका घरघरमा पत्रिका पुर्‍याएबापत साइकल चलाउन पाइन्थ्यो । ‘साइकल चलाउनकै लागि पनि म पत्रिका बाँड्न जान्थेँ,’ उनले भने । पत्रिका बाँड्दै साइकल चलाउने क्रममा उनले त्यसका भिडियो बनाएर यूट्युबमा राख्नसमेत थाले । पछि आफ्नै साइकल किनेपछि उनी साथीहरूसँग विभिन्न स्थानमा यात्रा गर्न थाले ।

धरानबाट सिक्किम हुँदै दिल्लीसम्म साइकल यात्रा गरेका तामाङले दिनमा १००–२०० किलोमिटरसम्म साइकलमा यात्रा गरेको अनुभव सुनाए । उनले भने, ‘दिल्ली पुग्न १९ दिन लागेको थियो । त्यो यात्रा सहज भने थिएन तर साथीभाइ समूहमा भएकाले यात्राले नयाँ अनुभव गरायो ।’ साइकल चलाउने क्रममा तामाङ विभिन्न साइक्लिङ तथा माउन्टेन बाइकिङ प्रतियोगितामा समेत सहभागी भइसकेका छन् । केही वर्षअघि धरानको पञ्चकन्यामा आयोजित प्रतियोगितामा सहभागी भएर उनले जुनियर क्याटेगोरीमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक प्राप्त गरेका थिए ।

३ वर्षअघि साइकल चलाउँदै भिडियो बनाउने क्रममा काठमाडौँ पुगेका तामाङ नगरकोटमा आयोजित ‘एसियन इन्डो रोड सिरिज’मा सहभागी भए । प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका थिए । उनले नेपालका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा समेत सहभागिता जनाइसकेका छन् ।

धरान–१० का विजय श्रेष्ठ विगत १५ वर्षदेखि साइक्लिङलाई आफ्नो दिनचयौ र रुचिको विषय बनाउँदै आएका छन् । उनी धरान बजारदेखि भेडेटार, चिन्डे डाँडा, चतरा, बराहक्षेत्र लगायतका स्थानलाई रुट बनाएर बिहान र बेलुकाको समयमा साथीभाइसँग समूहमा साइक्लिङ निस्किन्छन् । श्रेष्ठले भारतको दार्जिलिङ र सिक्किमसम्म साइकल यात्रा गरिसकेका छन् । नेपालका पर्सा, नेपालगञ्ज, चितवन, पोखरा, बागलुङ, गुफापोखरी, लुम्बिनीलगायत विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएका छन् ।

साइक्लिङलाई मनोरञ्जनका लागि मात्र नभएर मुख्य रूपमा रेस र इभेन्ट गरी २ विधामा हेर्न सकिन्छ । रेस प्रतिस्पर्धात्मक हुन्छ भने इभेन्टमा नयाँ ठाउँ घुम्ने, नयाँ मानिससँग चिनजान गर्ने र रमाइलो गर्ने अवसर मिल्छ । ‘साइक्लिङ भनेको साइकल चलाएर मनोरञ्जन लिनु मात्र होइन, यसले शरीरलाई स्वस्थ राख्नुका साथै नयाँ ठाउँ र मानिससँग जोडिने अवसर पनि दिन्छ,’ उनले भने ।

पछिल्लो समय धरानमा युवाहरू साइक्लिङलाई सोख र मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन र रोजगारीसँग समेत जोडिन थालेको श्रेष्ठको भनाइ छ । धरान आउने पर्यटकलाई स्थानीय साइकलिस्टले गाइडका रूपमा विभिन्न गन्तव्यमा घुमाउन थालेका छन् । धरान–११ का दीपक जिमीले दाइको प्रेरणाबाट साइकल चलाउन सुरु गरेका थिए । दाइले साइकल चलाएको देखेपछि उनलाई पनि रहर जाग्यो । त्यसपछि साइकल किनेर चलाउन थालेका जिमीको रुचि बढ्दै गएपछि अहिले उनी साइकल गाइडसमेत बनेका छन् ।

सानै उमेरदेखि साइक्लिङ प्रतियोगितामा सहभागी हुँदै आएका जिमीले प्रतियोगितामा प्राय: दोस्रो र तेस्रो स्थान हासिल गर्ने गरेको बताउँछन् । अहिले उनी विदेशबाट नेपाल आउने पर्यटकलाई विभिन्न रमणीय स्थानमा साइकलमार्फत घुमाउँदै गाइडको काम गर्दै आयआर्जनसमेत गर्दै आएका छन् । धरानका सडक तथा आसपासका क्षेत्रमा साइकल चलाउने युवाको संख्या बढ्दो छ । स्वास्थ्य, मनोरञ्जन तथा पर्यटनसँग जोडिएर युवाहरू यसतर्फ आकर्षित हुन थालेका छन् ।

धरानमा साइक्लिस्ट युवालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष पेड्लर्स धरानको आयोजनामा ‘कोरा राइड’ साइक्लिङ च्यालेन्ज हुँदै आएको छ । यस कार्यक्रमले साइकल चलाउने युवालाई प्रोत्साहन गर्नुका साथै दक्ष साइक्लिस्ट उत्पादनमा समेत सहयोग पुग्ने पेड्लर्सका अध्यक्ष किसान मास्केले बताए । कार्यक्रममा विभिन्न ठाउँबाट ३०० भन्दा बढी साइक्लिस्टहरू सहभागी हुने गरेका छन् । बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहने भएकाले पछिल्लो समय साइक्लिङप्रति युवाहरूको थप आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

सन् २०१७ देखि धरानमा सुरु भएको कोरा राइड च्यालेन्ज २०२४ देखि भने पेड्लर्स धरानमार्फत साइक्लिस्टहरूलाई संगठित रूपमा आह्वान गरी सञ्चालन गर्न थालिएको मास्केले बताए । साइक्लिङले शारीरिक स्वास्थ्य राम्रो राख्नुका साथै मानसिक तनाव कम गर्न पनि सहयोग गर्ने उनको भनाइ छ । छोटो दूरीको यात्रामा मोटरसाइकलको सट्टा साइकल प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने उनी बताउँछन् ।

साइक्लिङमार्फत धरानका विभिन्न मठ, मन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको परिक्रमा गरिनुका साथै धरान तथा आसपासका क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । धरानमा साइक्लिङका लागि छुट्टै साइकल लेनको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको छ । साइक्लिस्टका लागि सुरक्षित र व्यवस्थित साइकल लेन निर्माणमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । सुरक्षित साइकल लेन तथा आवश्यक पूर्वाधार निर्माण गर्न सके धरानमा साइक्लिङलाई थप व्यवस्थित बनाउन सकिने उनले बताए ।

साइक्लिङलाई पर्यटनसँग जोडेर आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना रहेको मास्केको भनाइ छ । साइकलमार्फत धरानका धार्मिक तथा पर्यटकीय स्थलको चिनारी गराउँदै पर्यटन संस्कृतिको विकास गर्ने उद्देश्यले समेत कोरा राइड च्यालेन्ज आयोजना हुँदै आएको उनले बताए । धरानमा बजार क्षेत्रदेखि भेडेटार, निडे डाँडा, कार्कीछाप, पानवारी, दानाबारी, सेउती लगायतका स्थानसम्म विभिन्न रुटमा साइक्लिङ गर्न सकिन्छ । प्राकृतिक तथा भौगोलिक विविधताले भरिएको धरानमा सुरक्षित पूर्वाधार विस्तार गर्न सके साइक्लिङलाई स्वास्थ्य र मनोरञ्जनसँगै पर्यटन तथा आयआर्जनसँग जोड्न सकिन्छ । (रासस)