काठमाण्डु – हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएको छ । उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् । उनको अवस्था गम्भिर हुँदै गएको बताईको छ । बन्दुकधारीहरुले निजी निवासमा बसिरहेका राष्ट्रपति मोइजेको हत्या गरेका थिए । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि जनाइएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान १ बजे आक्रमण भएको हो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको बताइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले बताएका छन् ।
उनी विरुद्ध लागेका आरोप
आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए । उनी हैटीका ४२ औं राष्ट्रपति थिए ।
भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो । यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए ।
हेइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठिक पाँच वर्ष पुगेको दिन हो ।
तर मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए ।
बीचको एक वर्षको ढिलाइ निर्वाचनमा धाँधली भएको भन्ने आरोपहरूका कारण हुन गएको हो जुन आरोपहरूका माझ सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो । जुन निर्वाचनमा जोभनेल मोइज विजयी भएका थिए ।
प्रहरीद्धारा चार शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या
राष्ट्रपति मोइसीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जना शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या गरेको छ । राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको छ ।
राष्ट्रपतिको हत्याले देश स्तब्ध बनेको र यसमा संलग्नमाथि नरम बन्न नसकिने पनि प्रहरीले जानकारी दिएका छन् । राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गर्दै अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले आतङ्कवादसँग जुध्नका लागि सहयोगको अपिल पनि गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतले हत्यालाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै धैर्यता नगुमाउन हैटीका नागरिक र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया