काठमाण्डु – अमेरिकी सरकारले कोभ्याक्स सुबिधा अन्तर्गत सहयोग गरेको कोरोना भाइरस संक्रमणविरुद्धको खोप साउन ४ गतेदेखि लगाउने सरकारको तयारी छ ।
अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको छ । एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छ ।
यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाण्डुका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।





प्रतिक्रिया