काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् ।
गत असार २० गते भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेट गरेको समाचारको खण्डन गर्दै उपाध्यक्ष रावलले आफ्नो चरित्र हत्या गर्ने गरी आएका भ्रामक समाचारको भर नपर्न आग्रह गरेका छन् । गत असार २० गते राती नेता रावल भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसँग भेट गर्न होटल मेरियटमा पुगेको समाचार सार्वजनिक भएको थियो ।
‘यो प्रायोजित समाचार केही षड्यन्त्रकारीहरुले तयार गरी विभिन्न समाचार माध्यमहरुमा वितरण गरेको देखिन्छ । म, प्रम ओली, वरिष्ठ नेता माधव नेपालजीका बीच असार २३ गते भएको वार्ताका दिनमात्र म होटल मेरियट अन्य पाँच जना नेताहरसँगै गएको हुँ । अन्य कुनै पनि दिन त्यहाँ गएको छैन्,’ उनले भनेका छन् ।
त्यस्तै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूलाई कार्यवाहक अध्यक्ष दिन्छु भन्ने समाचारको पनि खण्डन गरेका छन् । उनले दुवै विषयलाई प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन् ।
‘मलाई त्यस्तो कुनै प्रस्ताव प्रधानमन्त्री ओलीले राख्नुभएन । बरु मेरो उहाँसँग अडानयुक्त वार्ता भएको हो । मैले पार्टी एकता र राष्ट्रिय हितमा जोड दिएको थिएँ । कतिपय नेताहरुमा जस्तो जतिबेला पनि पदकै ध्याउन्न गर्नमा मेरो कुनै अभिरुची छैन’, उनले भनेका छन् ।






प्रतिक्रिया