काठमाण्डु – कोरोना भाइरसको महामारीकाबीच प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मंगलबार सानो आकार (पाँच सदस्यीय) को मन्त्रिमण्डल गठन गरेका छन् । तर, महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्य मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्तीमा ढिलाई हुँदा नागरिक आश्चर्यमा परेका छन् ।
मंगलबार प्रधानमन्त्री देउवाले आफूसंगै गृहमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्र कार्की, उर्जामा पम्फा भुसाल र अर्थमा जनार्दन शर्मालाई पद तथा गोपनियताको सपथ खुवाए । आज उनिहरुले कार्यभार पनि सम्हालिसकेका छन् । तर, पछिल्लो समय प्राथमिकतामा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने तोकिएन ।
धेरैले सानो मन्त्रिमण्डलमा पनि स्वास्थ्य मन्त्रालय प्राथमिकतामा पर्ने आँकलन गरेका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नदिएपनि सरकारले स्वास्थ्यको एजेण्डालाई प्राथमिकताका साथ राखेको छ ।
सरकारले आगामी असोज मसन्ताभित्र एकतिहाइ जनसंख्या र चैतमसान्तभित्र खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई पूर्ण मात्रामा खोप लगाउने व्यवस्था गर्ने, कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको विवरण सार्वजनिक गर्ने, महामारीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिमभत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने, महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।
धेरैको रोजाइमा स्वास्थ्य मन्त्रालय
कोरोना नियन्त्रणको विषय सरकारको सफलतासंग जोडिएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले जस पाउने गरि निर्णय लिने तयारी गरेका छन् । रकमे मन्त्रालयसमेत भनिएको स्वास्थ्य मन्त्रालयमा आउन धेरै इच्छुक रहेका छन् । केही नेताहरु स्वास्थ्य संरचना सुधार कै निम्ती मन्त्रालय आउने चाहना राखेका छन् ।
कांग्रेसका युवा नेता स्वास्थ्यमन्त्रीमा दोहोरिन चाहेका छन् । तर, प्रधानमन्त्री देउवाले यसबारे गठबन्धनमा छलफल गर्नुपर्ने भएको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पनि स्वास्थ्य मन्त्रालयमै इच्छा प्रकट गरेका छन् । कांग्रेसका युवा गगन थापाले आफूले यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालिसकेकाले पुनः स्वास्थ्य मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएका छन् ।
उनले कोरोना नियन्त्रणमा आफुसंग स्पष्ट भिजन भएको बताएकाले स्वास्थ्य मन्त्रालयमा दाबी गरेका हुन् । तर, गगनलाई स्वास्थ्यमन्त्री बनाउन गठबन्धन बाधक बनेको छ । गठबन्धनमै रहेका दलले स्वास्थ्यमा दाबी गरेपछी देउवालाई मन्त्रालयको बाँडफाँड गर्न सकस परेको एक कांग्रेस नेताले बताए । यी दुईको विकल्पबारे पनि छलफल भईरहेको ती नेताको भनाइ छ ।
उनी भन्छन्, ‘कांग्रेसबाट गगनजीले इच्छा राख्नुभएको छ । उहाँसंग पहिलेका अनुभव पनि छ । जुन सफल मन्त्रीका रुपमा सावित पनि भयो । तर, स्वास्थ्यमन्त्रालयकै जिम्मेवारी सम्हाल्नुभएका गठबन्धनका नेताले पनि इच्छा देखाउनुभएको छ सम्भवत आज त्यसको टुङ्गो लाग्छ ।’
कांग्रेसको छाँया सरकारको स्वास्थ्यमन्त्री भएकाले पनि स्वास्थ्यमन्त्री गगनलाई नै बनाउनुपर्ने कांग्रेसका केही नेताहरुको सुझाव छ । तर, गुटगत व्यवस्थापन र गठबन्धनलाई संगै लैजानुपर्ने अवस्थामा देउवाले कसलाई जिम्मेवारी देलान त्यो हेर्न बाँकी छ ।
कांंग्रेसभित्र सुजाता कोइराला र प्रकाशमान सिंहमध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालय दिन लागिएको चर्चा छ । यस्तै डिला संग्रौला पन्त र देवेन्द्रराज कँडेलको नाम पनि चर्चामा छ ।
गठबन्धनबाट बाहिरिएको नेकपा एमालेको माधव नेपाल पक्षले भने सत्तामा नजाने भएको छ । माओवादी केन्द्रले पनि स्वास्थ्य मन्त्रालयमा खासै चासो देखाएको छैन् । सम्भवतः आज बस्ने कार्यदलको बैठकले सबै मन्त्रालयको टुङ्गो लगाउने बताइएको छ ।




प्रतिक्रिया