काठमाण्डु ם – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टी जनाएका छन् । शुक्रबार भएको मन्त्रिमण्डल विस्तारमा असन्तुष्टी जनाउँदै नेता कोइरालाले सच्याउन माग गरेका छन् ।
तनँहुका सांसद डोबाटे विश्वकर्माको नाम मन्त्रीको लिष्टबाट काटेको भन्दै उनले दलित समुदायप्रतिको भएको अपमानलाई सच्याउन माग गरेका हुन् ।
‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो, ’ नेता कोइरालाले भनेका छन् ।
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको उनको गुनासो छ । ।
‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ,’ उनले भने, ‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो ।’
नेता कोइरालाले वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको उक्त निर्णयको जवाफ पार्टीले समाजलाई दिनुपर्ने बताए । उनले भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।




प्रतिक्रिया