काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसंगै कांग्रेसमा मन्त्रीका आकांक्षीको संख्या थपिएको छ । यस अघि प्रतिपक्षमा रहँदा गठन भएको छायाँ सरकारका मन्त्रीहरुले अहिले आफ्नो पार्टी सरकारमा भएकाले मन्त्रालयको जिम्मेवारी आफुहरुले पाउनुपर्ने दाबी गरेका छन् ।
छायाँ सरकारमा रहेका महिला मन्त्रीहरुले कांग्रेसबाट समानुपातिक रुपमा मन्त्रालय भागवण्डा हुनुपर्ने बताउँदै आएका छन् । कांग्रेस नेतृ डिला संग्रौला मन्त्री बन्ने लाइनमा छिन् । छाँया सरकारमा श्रममन्त्रालयको जिम्मेवारी सम्हालेकी संग्रौलाले नेतृत्वले आफुहरुको योगदानको कदर गर्नुपर्ने बताइन् ।
पुरुष सहकर्मीहरु सरह नै आफुहरु जनताको काममा खटिएको र पार्टीमा पनि आफुहरुले निकै मेहनत गरेकाले महिलाहरुलाई समान रुपमा मन्त्रालयको भागबण्डा हुनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री देउवा निकट मानिने संग्रौलाले मन्त्रालय पाउने चर्चा कांग्रेस वृत्तमा चर्चा चलेपनि कुन मन्त्रालय दिने भन्नेबारे निर्णय भएको छैन । यस्तै प्राथमिकता दिनुपर्ने स्वास्थ्य मन्त्रालय रिक्त छ । मन्त्रालय नहुँदा कतिपय तत्काल गनुपर्ने निर्णयहरु प्रभावित बनेका छन् ।
छायाँ सरकारमा स्वास्थ्यमन्त्री रहेकी नेतृ पार्वती डिसी चौधरी पनि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्षमता भएको दाबी गर्छिन् । नेतृत्वले जुन मन्त्रालयको जिम्मेवारी दिएपनि आफु पछि नहट्ने उनको भनाइ छ ।
यस्तै नेतृ सुजाता कोइराला पनि सरकारमा सहभागि हुन इच्छा देखाएकी छन् । आफुले राेजेजस्तो मन्त्रालय पाए सरकारमा सहभागी हुने आशय व्यक्त गरेको स्राेतले जनाएको छ । छायाँ सरकारको खानेपानीमन्त्री सुजाता परियार, महिला तथा बालबालीका मन्त्री उमा रेग्मी लगायतले देउवा नेतृत्वको सरकारमा इच्छा व्यक्त गरेका छन् । छाँया सरकारमा आफुहरुले गरेको निगरानी र अनुभवका आधारमा मन्त्रालय पाउनुपर्ने उनीहरुको माग छ ।
यस्तै कांग्रेस सचेतक पुष्पा भुषाल पनि सहमति भएमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आफु तयार भएको बताउँछिन् । यसअघि मन्त्री भइसकेका महिला नेतृहरुले पनि आफुले मन्त्री पद पाउनुपर्ने भन्दै शीर्ष नेताहरुसंगको भेटलाई तिब्रता दिएका छन् । एकातिर महाधिवेशन अर्कोतर्फ सरकार संचालन गर्नुपर्ने दबाबमा सभापति एवं प्रधानमन्त्री देउवा छन् ।
गठबन्धनका सबैलाई मिलाएर लौजानुपर्ने अवस्थाका बाबजुत पार्टीभित्रै भागबन्डा मिलाउन देउवालाई सकस परेको छ । त्यसमाथी महिला नेतृहरुले समावेशितालाई ख्याल गर्न देउवाको ध्यानाकर्षण गराउँदै आएका छन् ।
८ मन्त्रालय पाउने सम्भावना रहेको कांग्रेसले यसअघि दुई मन्त्रीलाई सरकारमा सामेल गराईसकेको छ भने बाँकी ६ मन्त्री टुङ्गो लगाउन छलफल गरेको छ । महिला नेतृहरुले समानुपातिक सहभागिताका लागि दबाब दिईरहँदा कांग्रेसको भागमा बाँकी रहेको ६ मन्त्रालय मध्ये ३ वटा मन्त्रालयको जिम्मेवारी महिलालाई दिनुपर्ने देखिन्छ । चाँडै यसबारे टुङ्गो लगाउने गरी कांग्रेस गृहकार्यमा जुटेको छ ।




प्रतिक्रिया