काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले तुइन काटेर तुइनबाटै महाकाली तरिरहेका नेपाली नागरिक बेपत्ता भएको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सरकारले दृढताका साथ अगाडी बढाउने बताएका हुन् ।
उनले भने, ‘प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सरकारले दृढताका साथ अगाडी बढाउनेछ ।’ त्यसैगरी गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको छानबिन समितिले घटनास्थलमा नै गएर छानबिन गर्ने उनले जनाए ।
उनले भने ‘सरकारले छानबिन समिति बनाएको छ । समितिले घटनास्थलमा नै पुगेर छानबिन गर्नेछ । साथै तुइन तरेका र तर्न बाँकीहरुसँग पनि बुझ्नका लागि सबै जिल्ला प्रशासन कार्यालयमा नै बोलाएर छानबिन भइरहेको छ ।’
साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।




प्रतिक्रिया