मेस्सी बिनाको अर्जेन्टिनालाई दोहोरो झट्का : एकातिर पराजय, अर्कोतिर मैदानमा दर्शकको खडेरी

मेस्सी बिनाको अर्जेन्टिनालाई दोहोरो झट्का : एकातिर पराजय, अर्कोतिर मैदानमा दर्शकको खडेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएपछि खेलेको पहिलो खेलमै अर्जेन्टिना पराजित भएको छ ।

शुक्रबार उरुग्वेविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ गोलले पराजित भएको हो ।

विश्वकप विजेता प्रशिक्षक लियोनेल स्कालोनीले हारलाई खेलको एउटा पाटोका रूपमा लिए पनि मेस्सीको अनुपस्थितिमा मैदानमा देखिएको दर्शकको न्यून उपस्थितिले अर्जेन्टिनाको फुटबलमा अर्को चुनौती थपिएको छ ।

गत महिना बेनिनविरुद्धको विदाइ मैत्रीपूर्ण खेलमा मेस्सीलाई सम्मान गर्दा ८५ हजार दर्शक क्षमताको मोनुमेन्टल रंगशाला खचाखच भरिएको थियो ।

तर उरुग्वेजस्तो चिरप्रतिद्वन्द्वीसँगको खेल हेर्न शुक्रबार ५८ हजार दर्शक क्षमताको ला बोम्बोनेरा रंगशालामा करिब २४ हजार मात्रै दर्शक पुगेका थिए । स्थानीय सञ्चारमाध्यम क्लारिनका अनुसार रंगशालाको आधाभन्दा बढी भाग खाली थियो ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीले आफ्नै राजधानीमा यति ठूलो संख्यामा खाली सिटको सामना गरेको सन् २०११ नोभेम्बरयता पहिलोपटक भएको बताइएको छ ।

खेलमा भने अर्जेन्टिनाले उरुग्वेलाई दबाबमा राखेको थियो । अर्जेन्टिनाले ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै १७ पटक गोलको प्रयास गरेको थियो । तीमध्ये ६ प्रहार पोस्टको दिशामा थिए । उरुग्वेले भने २८ प्रतिशत बल नियन्त्रणमा राख्दै ६ पटक मात्रै गोलको प्रयास गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उरुग्वेले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । सेट पिसबाट आएको बल क्लियर गर्ने क्रममा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको प्रहार लियोनार्डो बालेरडीको टाउकोमा लागेर आफ्नै पोस्टमा छिरेको थियो ।

त्यसपछि अर्को कर्नरबाट जर्जियन डे अरास्काएटाको पासमा म्याक्सी अराउजोले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । अर्जेन्टिनाका गोलकिपर जेरोनिमो रुल्लीले प्रहार रोक्न सकेनन् ।

हारका बाबजुद प्रशिक्षक स्कालोनीले आफ्नो टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाएनन् । उनले दोस्रो हाफमा अर्जेन्टिनाले राम्रो खेलेको र खेलको अधिकांश समय नियन्त्रणमा राखेको बताए ।

‘अन्तिम नतिजा जे भए पनि यो राम्रो खेल थियो । दोस्रो हाफमा हामीले राम्रो प्रदर्शन गर्‍यौं,’ स्कालोनीले भने ।

म्यानचेस्टर सिटीका मिडफिल्डर एन्जो फर्नान्डेजले पनि अर्जेन्टिनाले खेल नियन्त्रणमा राखेको दाबी गरे । उरुग्वेले गरेका गोल संयोगवश भएका उनको जिकिर थिय ।

दर्शकको खडेरी

अर्जेन्टिनाको समस्या मैदानभित्रको प्रदर्शनमा मात्रै सीमित थिएन । मेस्सीको अनुपस्थितिसँगै समर्थकको चासो र रंगशालामा दर्शकको उपस्थिति पनि घटेको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यम क्लारिनसँग कुरा गर्दै एक सडक व्यापारीले १५ हजार पेसोमा जर्सी बिक्री गर्न खोज्दा पनि एउटा जर्सीसमेत बिक्री नभएको बताएका थिए ।

खेलको टिकट मूल्य पनि दर्शक कम हुनुको एउटा कारण मानिएको छ । सबैभन्दा सस्तो टिकटको मूल्य ९५ हजार पेसो अर्थात् करिब ६१ अमेरिकी डलर थियो भने आरक्षित सिटका लागि १ लाख ४० हजार पेसो अर्थात् करिब ९१ डलरसम्म तिर्नुपर्ने व्यवस्था थियो ।

मेस्सीलाई प्रत्यक्ष हेर्ने अवसरले यसअघि महँगो टिकट पनि समर्थकले खरिद गरेका थिए । तर उनीबिनाको खेलमा त्यही मूल्य दर्शकका लागि आकर्षण बन्न सकेन ।

स्कालोनीले भने मेस्सीको अनुपस्थितिमा पनि समर्थकहरू पुन: रंगशालामा फर्किने विश्वास व्यक्त गरेका छन् । ‘मेस्सी अब टोलीमा छैनन् भन्दैमा समर्थक आउन छाड्ने छैनन् । उनीहरू फेरि हामीलाई समर्थन गर्न आउनेछन् । समर्थकलाई उत्साहित बनाउने जिम्मेवारी हाम्रो हो,’ उनले भने ।