भारत–पाकिस्तान तनावबिच पाकिस्तानी मन्त्री नयाँदिल्ली जाने

भारत–पाकिस्तान तनावबिच पाकिस्तानी मन्त्री नयाँदिल्ली जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानले आगामी हप्ता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन १ मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ ।

इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष २ देशबिच ४ दिनसम्म सैन्य द्वन्द्व भएयता हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तन मन्त्री मुसादिक मलिकले २० देखि २२ नोभेम्बरसम्म नयाँदिल्लीमा आयोजना हुने ‘साङ्घाई सहयोग संगठन (एससीओ) सभ्यता संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन् ।

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएयता पाकिस्तानी संघीय मन्त्रीको भारत भ्रमण हुन लागेको यो पहिलोपटक हो ।

परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबिच लामो समयदेखि गहिरो अविश्वास रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता यी २ देशबिच पटक–पटक युद्ध तथा सैन्य तनाव उत्पन्न भएका छन् । यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथिको दुवै देशको दाबी हो ।

सन् २०२५ मे महिनामा कश्मीरमा सशस्त्र बन्दुकधारीहरूले २ दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच ४ दिनसम्म भीषण सैन्य द्वन्द्व भएको थियो । मारिने पर्यटकमध्ये अधिकांश हिन्दु थिए ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो । तर पाकिस्तानले भने उक्त आरोपलाई कडा रूपमा अस्वीकार गरेको थियो ।

घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए । त्यसपछि तनाव बढ्दै जाँदा दुवै पक्षबिच क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो । उक्त द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकार एससीओको ढाँचाभित्र रहेर आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबीच संवाद प्रवर्द्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न प्रतिबद्ध छ ।’