काठमाण्डु– नेपाली कांग्रेसमा महाधिवेशन सार्ने विषयमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको नयां कार्यतालिकाबारे छलफल सुरु गरेका हुन । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्ने आवाज उठाइरहेको छ । तर, प्रधानमन्त्री देउवा भने महाधिवेशन सार्ने पक्षमा छन् ।
नेपाली कांग्रेसले भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर, महाधिवेशन नजिक आउंदा समेत केही तयारी नभएपछि पौडेल पक्ष आक्रोसित भइरहेको छ । पौडेल पक्षका जिल्ला सभापतिहरुको भेलाले समेत भदौमै महाधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले महाधिवेशनको नयां कार्यतालिकाबारे मंगलवार पौडेल पक्षका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगन थापासंग छलफल गरेका हुन् । उनले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएको भन्दै नयां कार्यतालिकाबारे नेताहरुको सुझाव मागेको स्रोतले बतायो ।
प्रधानमन्त्री देउवा साउन २८ गते बस्ने केन्द्रीय समिति बैठक अघि महाधिवेशन सार्ने विषयमा सहमती जुटाउनेमा लागेका छन् । त्यसका लागी उनले कांग्रेसका तिनै प्रभाशाली नेताहरुसंग छलफल गरेका हुन ।
पौडेल पक्ष भने केन्द्रीय समिति बैठकमा देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छ । केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ ।
मंगलवारको भेटमा प्रधानमन्त्री देउवाले सरकार संचालनको बारेमा समेत नेताहरुलाई सुझाव मागेका थिए । त्यसका साथै महाधिवेशनको नयां कार्यतालिकाबारे पनि सकरात्मक भुमिका खेलिदिन उनले आग्रह गरेका थिए ।
कांग्रेसमा महामन्त्री डा. शशांक कोइराला भदौमा महाधिवेशन सम्भव नभएकाले मंसिरमा महाधिवेशन गर्न सहमत छन् । तर, पौडेल पक्ष भने प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा छ ।




प्रतिक्रिया