काठमाण्डु – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आफु अनुकुलका निर्णय गरेका छन् । पोखरेलले राजीनामा दिनु केही घण्टाअघि मन्त्रिपरिषदको बैठक राखेर विभिन्न नियुक्ति दिएका हुन् ।
आज बिहान बसेको बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृति प्रदान गरेको मन्त्री चौधरीले बताए ।
यस्तै आसुलेन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएर निजी अस्पतालका सञ्चालक डा. ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको छ ।
हाडजोर्नी विशेषज्ञ डा. ढकाल बुटवलमा सञ्चालित साझा अस्पतालका सञ्चालक हुन् । डा. खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गरिएको छ । ११ औं तहका मेडिकल सुपरिन्टेन्डेन्ट डा. खनाललाई हटाएर १० औं तहका डा. ढकाललाई नियुक्त गर्ने सरकारको निर्णयको आलोचना सुरु भएको छ ।
जाँदाजाँदै अलोकप्रिय निर्णय गरेको भन्दै मुख्यमन्त्री पोखरेलको आलोचना सुरु भएको हो । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई सेवाप्रति प्रतिबद्ध बनाउँदै बिग्रिँदै गएको अस्पताल प्रशासनमा सुधार भइरहेका बेला अस्पतालको नेतृत्व परिवर्तन गर्नु गलत भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।
अस्पतालका करोडौंका भौतिक संरचना निर्माण हुने क्रममा रहेकोले कमिसनका लागि डाक्टर खनालसँग स्वार्थ नमिलेका कारण विभागीय मन्त्री तथा सम्बन्धित अधिकारीहरू उनीबिरुद्ध लागेको स्रोतको दाबी छ ।




प्रतिक्रिया