काठमाण्डु – नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका बेला तटस्थ बसेका दोस्रो तहका नेताहरुसँग छलफल गरेका छन् । सोमबार भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत दोस्रो तहका नेताहरुले बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन् ।
हालै बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आजको बैठक सकरात्मक भएको बताइन् । नेतृत्वले नै पार्टी जोगाउने र बचाउन सक्ने भएकाले अहिले ओलीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।
माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । नेपालको साथ छोडेका १० जनाले सनाखत गर्ने बेलासम्म संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने हुन्छ । त्यसका लागि भोलि बिहानै माधव नेपालकाे साथ छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
दश बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मनाउने जिम्मा यसअघि आइतबारको छलफलमै शंकर पोखरेलले लिएका थिए । सोही अनुसार बालकोट पुगेका नेताहरूसँग ओलीले भोलि नै बैठक बसेर १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्वता जनाएका छन् ।
कार्यदलमा रहेका माधव नेपाल पक्षीय नेताहरूको सहमतिमै कार्यसूची बनाएर अध्यक्ष र महासचिवले स्थायी कमिटी बैठक बोलाउने नेता पोखरेलले बताएका छन् । दश बुँदे सहमतिमा नेकपाकालमा समेटिएका नेताहरूसहित २०७५ जेठ २ अघिका एमालेका संरचनाहरू क्रियाशील गराउने र समस्या आइपरे कार्यदलले टुंगो लगाउने उनले बताए । त्यसबाहेक विधान महाधिवेशनका सन्दर्भमा माधव नेपाल छाडेर आउनेहरूका लागि समेत सम्बोधन गरेर अघि बढ्ने ओली पक्षको तयारी छ ।
माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति भएको छ । माधव नेपाल पक्षका ३० भन्दा बढी जिल्ला अध्यक्ष थिए । नेपालसँग नजानेहरूले अब जेठ २ अघिकै कमिटीको बैठक बोलाएर पार्टी गतिविधि अघि बढाउन पाउने गरी मोडालिटीमा छलफल गरिरहेका छन् ।




प्रतिक्रिया