एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने गरि विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बोलाइएको बैठक नेताहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएकाे हो । आजको बैठकमा पूर्व माओवादीबाट आएका नेताहरु समेत सहभागी हुनेछन् ।

हिजो एमालेभित्रको तेस्रो धार अर्थात पार्टी एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु र अध्यक्ष केपी शर्मा ओलीवीच ओली निवास बालकोटमा बसेको बैठकले १० बुँदे सहमतिलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको थियो ।

आजको बैठकबाट एमालेमा जेठ २ अघिकै संरचना ब्युतिंने छ । मंगलवार बस्ने स्थायी समिति बैठकमा एमालेमा तेस्रो धारका रुपमा चिनिएका नेताहरु समेत सहभागी हुनेछन् । १० बुँदे सहमती कार्यान्वयनका लागी एमालेमा कार्यदल समेत निर्माण गरिएको छ ।

जसमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल छन् । उक्त कार्यदलले आजको बैठकमा सहमतीको कार्यान्वयनको खाका समेत प्रस्तुत गर्नेछ । उक्त कार्यदलले माओवादीबाट आएका नेताहरुको जिम्मेवारी व्यवस्थापन गर्ने योजना समेत पेश गर्ने तयारी छ ।

एमाले जेठ २ मा फर्किएसंगै अब प्रदेश,जिल्ला र जनवर्गिय संगठनका प्रमुखहरुको जिम्मेवारी पनि पुरानै हुने भएको छ । जसअनुसार प्रदेशको १ को इन्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतिमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदुरपश्चिम प्रदेशमा भीम रावल इन्चार्जको रुपमा पुुर्नस्थापित हुनेछन् । यससंगै एमालेमा तेस्रो धारका रुपमा चिनिएको समुहले सबैभन्दा बढी प्रदेश इन्चार्जको जिम्मेवारी पाउनेछ ।

एमाले अध्यक्ष केपी ओलीले पार्टीमा बिवाद बढेसंगै प्रदेशको नेतृत्व समेत हेरफेर गरेका थिए । जसअनुसार प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुवास नेम्बाङ, २ मा रघुवीर महासेठ, बागमतिमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कडेँल र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो । आजको बैठकबाट पुरानो कमिटी पुर्नस्थापित हुनेछ भने नयांलाई अर्को जिम्मेवारी दिइने सम्भावना छ ।