काठमाण्डु – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गर्न माधव कुमार नेपालसहितको टोली निर्वाचन आयोग पुगेको छ ।
नेकपा एमाले फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालसहितका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरीबाट सिधै आयोग पुगेका हुन् । उनीहरू सोमबारदेखि चन्द्रागिरिमा बसेका थिए ।
प्रस्तावित दल नेकपा एकीकृत समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुको सनाखत आज हुँदैछ । निर्वाचन आयोगले आज उनीहरूलाई सनाखतका लागि सशरीर भौतिकरूपमा आयोगमा साढे ११ बजेदेखि २ बजेसम्म उपस्थित हुन भनेको थियो ।
सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी नेता नेपालले एमालेबाट औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए । सोही प्रयोजनका लागि नेता नेपाल समूह आयोग पुगेका हुन् ।
यता, नेपालको साथ छाडेका नेताहरु भने अध्यक्ष केपी शर्मा ओलीसँगै मिलेर एमालेमा बस्ने भएका छन् । मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओली र नेपाल समूह छाडेका नेताहरुबीच सहमति भएको थियो ।




प्रतिक्रिया